• १९ वैशाख २०८१, बुधबार

‘सबैले आफ्नो जिम्मेवारी पूरा गरे लक्ष्यमा पुग्न सकिन्छ’

blog

फाइल तस्विर

काभ्रेपलाञ्चोक, असोज २४ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सबै निकाय तथा क्षेत्रका व्यक्तिले आ-आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने लक्ष्यमा पुग्न सकिने बताउनुभएको छ । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को ४१ औँ व्यवस्थापन गोष्ठीको बनेपास्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा आज आयोजित उद्घाटन गर्दै मन्त्री राईले सबैले आ-आफ्नो जिम्मेवारी पूरा गरे अवश्य लक्ष्यमा पुग्न सकिनेमा जोड दिनुभयो । 

उहाँले नीति-निर्माण र ओहोदामा बस्नेले जिम्मेवारी पूरा गर्ने हो भने कर्मचारी सङघ सङ्गठनले मन्त्रीलाई ‘पख्लास्’ भनिरहनुपर्ने अवस्था नआउने बताउनुभयो । आफ्नो क्षमता विस्तार गर्दै इमान्दारिता र सक्रियतापूर्वक राष्ट्र सेवामा समर्पित हुन कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्री राईले सरकारले मुलुकको आर्थिक समृद्धिसँगै पुँजी तथा मानव संशोधन व्यवस्थित गर्ने लक्ष्य लिएको बताउनुभएको छ । 

मन्त्री राईले सम्बन्धन बाँड्ने काम परिषद्को नभएको दाबी गर्नुभयो । उहाँले पुनः प्रश्न गर्नुभयो, “परिषद्ले सम्बन्धन बाँड्ने होइन, तर कसरी बाँड्यो ? १६ वर्षदेखि पैसा तिरेर कुरेर बसेकाले सम्बन्धन किन पाएनन् त ? सेवाग्राहीलाई दिने न्याय यही हो ?” यसअघि बनाइएका कार्यदलले गरेका कामलाई अध्ययन गरी अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेलले सिटिइभिटीको पुनः संरचना पूर्वाधार सुहाउँदो नगरिएको गुनासो गर्नुभयो । उहाँले स्थानीयस्तरमा उत्पादित सामग्री खपत तथा बजारीकरणका लागि आवश्यक प्राविधिक जनशक्ति तयार गर्न सुझाव पनि दिनुभयो । 

सिटिइभिटीका सदस्य सचिव महेश भट्टराई, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायतले उपलब्धिलाई समीक्षा गर्दै सम्भावनालाई रोजगारीसँग जोड्न आग्रह गर्नुभएको थियो । 

गोष्ठीमा सिटिइभिटीका सात प्रदेश प्रमुख तथा आङ्गिक ६५ शिक्षालयका प्रमुखको सहभागिता रहेको उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार देशभर सिटिइभिटीको सम्बन्धन प्राप्त एक हजार एक सय शिक्षालय सञ्चालनमा छन् । रासस