• ११ मंसिर २०८१, मङ्गलबार

करेन्ट लागेर एकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, असोज २४ गते । सर्लाहीको बरहथवामा वन्यजन्तुबाट तरकारी जोगाउन थापिएको विद्युतीय धरापमा परी एक जनाको मृत्यु भएको छ । काउली खेतीमा नीलगाईलगायत अन्य जीवजन्तु प्रवेश गर्न नदिन बिजुलीको नाङ्गो तारमा प्रवाह गरिएको करेन्ट लागेर बरहथवा नगरपालिका –१४, बिन्माटोलका ४५ वर्षीय शिवजी साहको मृत्यु भएको हो । 

साह मङ्गलबार राति शौच गर्न गएका बेला छिमेकी नरेश साहको खेतमा नाङ्गो तार छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेका अनुसार घर छेउमै भर्खरै रोपिएको काउलीमा जोखिमपूर्ण ढङ्गले चारैतिर बिजुलीको नाङ्गो तार लगाएर करेन्ट प्रवाह गरिएको थियो । 

हुकिङ लगाएर बारी घेरिएको नाङ्गो तार प्रहरीले बरामद गरेको छ । गैर–कानुनी रुपमा तरकारी बालीमा नाङ्गो तार टाँगेर करेन्ट प्रवाह गर्ने नरेश साह घटनापश्चात् फरार छन् । 

नरेशका छोरा रामकेवललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताउनुभयो । सर्लाहीका किसानले वन्यजन्तुबाट तरकारी, मकैलगायत अन्य बालीनाली जोगाउन यसरी गैर–कानुनी रुपमा बिजुलीको नाङ्गो तारमा करेन्ट प्रवाह गरेर धराप थाप्ने गरेका छन् । 

त्यसरी थापिएको धरापमा परेर पटक–पटक मानिसको मृत्यु हुँदैआएको छ । वन्यजन्तुसमेत मर्नेगरेका छन् । फँडानी र तस्करीका कारण वनक्षेत्र उजाड बनेपछि निलगाई, हरिण, बँदेल लगायतका वन्यजन्तु आहाराको खोजीमा किसानको खेतबारीमा पस्ने गरेका छन् ।