रेखीराम राना
पाल्पा, असोज २४ गते । वर्षाका कारण बाढी, पहिरो तथा गेग्रानले बिग्रिएका राजमार्गको मर्मतसुधार सुरु भएको छ । जिल्लाको मुख्य राजमार्गको रुपमा रहेको सिद्धार्थ राजमार्गसहित जिल्लाको ग्रामीण क्षेत्रमा पुग्ने सडकको मर्मतसुधारको कार्य सुरु गरिएको हो ।
पाल्पा जिल्लाअन्तर्गत पर्ने राम्दीदेखि रुपन्देहीको चिडियाखोलासम्मको सडकको सुधार गर्न काम थालिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बावुराम सापकोटाले जानकारी दिनुभयो । चाडपर्वमा सहज यात्राका लागि सडकमा परेका खाल्डाखुल्डी पुर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । दसैँअघि सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा पर्ने ७० किलोमिटर सडकको सुधार गर्ने लक्ष्य लिइएको प्रमुख सापकोटाले बताउनुभयो ।
छ महिनाअघि मर्मतसुधार गरेका सडक अहिले बिग्रिएर हिँड्नै नसक्ने गरी खाल्डाखुल्डी परेका छन् । स्थानीय तहले जथाभावी खनेका सडकका कारण मुख्य राजमार्गमा पहिरो खसेर सडक बिग्रिएको छ । ठूलो पहिरो र धेरै बिग्रिएको स्थानमा भने अहिले नै सडकको अवस्था सुधार नहुने भएको छ ।
सडकको अवस्था राम्रै भएको तर साना खाल्डोले निम्त्याउन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सडक मर्मतसुधारको काम गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । दसैँअघि तानसेन–तम्घास सडकखण्ड भने मर्मत नहुने कार्यालयले जनाएको छ । सडकका खाल्टाखुल्टी पुर्ने र ग्रामीण क्षेत्रका सडकको मर्मतसुधार भए दुर्घटनामा समेत कमी आउने ट्राफिक प्रहरीले जनाएको छ । वर्षातका बेला बिग्रिएका सडकको अवस्था सुधार भए चाडपर्वका बेला हुन सक्ने दुर्घटनामा कमी आउने ट्राफिक प्रहरी प्रमुख राजकुमार चापागाले बताउनुभयो ।
यसैबीच, जिल्लाका १० वटै स्थानीय तहले ग्रामीण क्षेत्रको सडकको मर्मतसुधार सुरु गरेका छन् । वर्षातको समयमा पहिरो खसेर चार महिना अवरुद्ध बनेका सडकको मर्मतसुधार गरेर यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्याउन काम भइरहेको स्थानीय तहहरूले बताएका छन् ।