• ११ मंसिर २०८१, मङ्गलबार

डा. अधिकारीद्वारा लिखित पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक

blog

काठमाडौँ, असोज २४ गते । डा. राजु अधिकारीद्वारा लिखित नयाँ पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक भएको छ । योगविज्ञान तथा जीवनशैली प्रशिक्षक अधिकारीको यो १४ औँ कृति हो ।

विवाहसम्बन्धी यस्तै ज्ञान, विज्ञान र मनोविज्ञान समेटेर लेखिएको पुस्तक हो, ‘विवाहअगाडि विवाहपछाडि’ । ‘यो पुस्तक पढ्न जति रोमाञ्चक छ, वैवाहिक आकाङ्क्षीहरूलाई उपहार दिन त्यत्तिकै मूल्यवान् छ भन्ने मेरो विश्वास छ,’ डा. अधिकारी भन्नुहुन्छ । यस पुस्तकले पाठकवर्गमा वैवाहिक मर्म बोधलाई कुनै न कुनै ढङ्गले पृष्ठपोषण गर्ने उहाँको विश्वास छ ।  

लेखक भन्नुहुन्छ, ‘जिन्दगी सुन्दर, घर स्वर्ग र भविष्य सानदार बनाउने स्वैच्छिक सोपान हो- विवाह । भनिन्छ, विवाह सप्रिए सब थोक सप्रिन्छ, विवाह बिग्रिए सब थोक बिग्रन्छ । विवाह बिग्रनु भनेको पुरुष प्रलय र नारी महामारी बन्नु जस्तै हो । विवाह सफल हुनुको अर्थ हो, पुरुष प्रशान्त बन्नु अनि नारी मनकारी र सहयात्रामा घर गृहस्थी अघि बढ्नु ।’ 

विशेष गरी डा. अधिकारीले आध्यात्मिक–व्यावहारिक जीवन यापनका लागि सरल उपाय सुझाएर पुस्तक लेखिरहेका छन् । यो पुस्तकमा भने उहाँले विवाहका विविध पाटालाई केलाएर उत्तम छनोटका लागि मानिसलाई मार्ग निर्देश गरेको प्रकाशक फाइनप्रिन्टका नीरज भारीले बताउनुभयो ।