• १२ साउन २०८१, शनिबार

चुली बोक्ने टिप्पर कारबाहीमा

blog

काठमाडौँ, असोज २४ गते । काभ्रेपलाञ्चोकका सडकमा बालुवा, गिटी र ढु्ङ्गा ओभरलोड बोक्ने टिप्परलाई प्रहरी प्रशासनले कारबाही गर्न थालेको छ । अनियन्त्रित रूपमा बालुवा र गिट्टी भरेर गुड्ने टिप्परले सडक ध्वस्त पारेको समाचार गोरखापत्रमा प्रकाशित भएसँगै ‘ओभरलोड’ विरुद्ध प्रहरी आक्रामक रूपमा लागेको छ ।

सात सयभन्दा धेरै टिप्पर सदस्य रहेको बागमती टिप्पर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले सोमबारको एक अन्तर्क्रियामा आफ्ना सङ्घमा आबद्ध टिप्परले ओभरलोड नबोक्ने दाबी गरेको भोलिपल्ट एकै दिनमा प्रहरीले सयौँ टिप्परको ओभरलोड घटाएको (कटिङ गरेको) हो । मङ्गलबार बालुवा र गिट्टी घटाइएका टिप्परमा बागमती टिप्पर सङ्घकै रहेका छन् ।  राजमार्ग जोडिएका प्रहरी कार्यालयले विशेष अपरेसन नै चलाएर ओभरलोड बोक्ने टिप्परले बोकेको सामान कटिङ गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले सञ्चार माध्यमसँग प्रतिक्रिया दिँदै निरन्तर रूपमा टिप्परले ओभरलोड बोक्ने, पानी चुहाउने गरेको गुनासो जनस्तरबाट आएपछि आकस्मिक चेकजाँच गर्दै कटिङ गरेको जानकारी दिनुभयो । 

उहाँका अनुसार दोलालघाट, सिपाघाट, हिगुवापाटी, पाँचखाल, खाँवा, धुलिखेल, बनेपा, साँगा, पनौती, काभ्रेभञ्ज्याङ, भकुन्डेबेँसी, मङ्गलटारमा रहेका प्रहरी कार्यालयले ओभरलोड बोकेका र प्रेसर हर्न जोडिएका टिप्परलाई कारबाही गरेको छ । केही महिनाअघि जिल्ला प्रशासन कार्यालयले अरनिको, बिपी राजमार्ग तथा पनौती सडक खण्डमा गुड्ने सवारीको अनिवार्य तौल लिने निर्णय गरेको थियो । केही दिन टिप्परको तौल गरिए पनि सो कार्य रोकिएपछि ओभरलोड बोक्ने टिप्परको सङ्ख्यामा वृद्धि भएको थियो । 

प्रहरीले यस्ता ओभरलोड कटिङको कार्य नियमित रूपमा गर्ने र त्यसरी हिँडेको सवारी साधन देखेमा खबर गर्न अनुरोध गरेको छ । प्रहरी उपरीक्षक श्रेष्ठले मध्यरातसम्म कटिङ भइरहेको जानकारी गराउनुभयो । उहाँले प्रहरीलाई समयमै सूचना दिएर ओभर लोड रोक्ने अभियानमा सहयोग गर्न अनुरोध गर्नुभयो । ओभरलोडसँगै प्रेसर हर्नले पर्यटन व्यवसायलाई समेत असर पारेको गुनासो आएपछि प्रहरीले प्रेसर हर्न र फोकस लाइट रोक्ने अभियान सुरु गरेको उहाँले जानकारी दिनुभयो । सोही क्रममा मङ्गलबार एक सयभन्दा धेरै टिप्परमा राखिएको प्रेसर हर्न हटाइएको छ । 

प्रहरीले सुरु गरेको अभियानको नागरिकस्तरबाट स्वागत गरिएको छ । काभ्रेपलाञ्चोकका स्थानीय विलास थापाले प्रहरीले सुरु गरेको अभियान निरन्तर भएमा त्यसले सडक जोगाउन र सर्वसाधारणको स्वास्थ्य बचाउन सहयोगी हुने उल्लेख गर्नुभयो । रातको समयमा टिप्परले अनावश्यक रूपमा प्रेसर हर्न बजाउने कार्य रोक्न यो अभियानले सार्थकता पाउने उद्योग वाणिज्य सङ्घ पाँचखालका अध्यक्ष राजन कार्कीले बताउनुभयो ।