• १२ मंसिर २०८१, बुधबार

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न अठोट लिएको छु : प्रधानमन्त्री

blog

विश्व मानसिक स्वास्थ्य दिवस र सेतोकोट दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्याले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड । तस्बिर : कविन अधिकारी

काठमाडौं, असोज २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई छिट्टै समाधान गर्ने अठोट व्यक्त गर्नुभएको छ ।

विश्व मानसिक स्वास्थ्य दिवस र सेतोकोट दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्याले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको तत्काल समाधान खोज्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्ने अठोट लिएको छु । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग मिलेर काम गरिनेछ ।”


विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा सबै नागरिकको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै प्रधानमन्त्री प्रचण्डले मानसिक स्वास्थ्य सेवालाई विस्तारका लागि पहलकदमी भइरहेको जानकारी दिनुभयो । उहाँले  स्वास्थ्यमन्त्रीको नेतृत्वमा महत्त्वपूर्ण सुधारका काम भएको भन्दै प्रशंसासमेत गर्नुभयो । “स्वास्थ्य क्षेत्रको विकास र जनतालाई सेवा सुविधा दिने विषयमा नयाँ योजना र कार्यक्रम अघि सार्न मैले स्वास्थ्यमन्त्रीलाई निरन्तर प्रेरित गरिरहेको छु”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले सो अवसरमा स्वास्थ्य क्षेत्र सुधार तथा समस्या समाधानका लागि काम गरिरहनुभएका स्वास्थ्यमन्त्री, पदाधिकारी र स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी सबैलाई धन्यवाद दिनुभयो ।  


सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोगको बढ्दो चुनौतीलाई सामना गर्दै गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्‍याउन सरकारले पहल गरिरहेको बताउनुभयो । मन्त्री बस्नेतले अबको छ महिनाभित्र स्वास्थ्य क्षेत्रमा कर्मचारीको दरबन्दी सिर्जना गर्ने, स्वास्थ्य उपकरणको व्यवस्थापन र सरकारी अस्पतालमा सेवा सुधार गर्ने प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रममा मानसिक स्वास्थ्यसँगै समग्र स्वास्थ्य क्षेत्र सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका विभिन्न चिकित्सक, स्वास्थ्यकर्मी, प्रादेशिक अस्पताल, स्थानीय निकाय, गैरसरकारी संस्था र व्यक्तित्वहरूलाई मन्त्रालयले सम्मान गरेको थियो ।



यो पनि पढ्नुहोस