• १३ मंसिर २०८१, बिहिबार

एमाले सुदूरपश्चिम अध्यक्षका लागि चार जनाको उम्मेदवारी

blog

नेकपा (एमाले) सुदूरपश्चिम प्रथम प्रदेश अधिवेशन । तस्बिर : भवानी ऐर

भवानी ऐर
गोदावरी (कैलाली), असोज २३ गते ।
 नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । धनगढीमा जारी प्रथम प्रदेश अधिवेशनअन्तर्गत मङ्गलबार चार जनाले प्रदेश अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो ।

आइतबारदेखि सुरु अधिवेशनमा सोमबार अबेरसम्म नेतृत्व चयनमा सहमति नभएपछि  मङ्गलबार बिहान निर्वाचन कार्यक्रम सुरु भएको छ । प्रदेश अध्यक्षमा चार जनाको उम्मेदवारी परेको र अन्य पदाधिकारीहरूमा पनि आधा दर्जनभन्दा बढी उम्मेदवारी परेको निर्वाचन अधिकृत पदम पालले जानकारी दिनुभयो । उहाँका अनुसार अझै उम्मेदवारी दिने समय आधा घण्टा बाँकी छ ।

अध्यक्ष पदमा अछामका कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराउनुभएको छ भने बझाङका बचनबहादुर सिंहले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । तिमिल्सिनालाई प्रदेशका निवर्तमान अध्यक्ष दामोदर भण्डारी, नेता लेखराज भट्ट लगायतको समर्थन रहेको छ भने जैसीलाई पोलिटब्युरो सदस्य कर्णबहादुर थापा लगायतको समर्थन रहेको बताइएको छ । प्रदेश सदस्यका लागि पाँच सय बढीले मनोनयन दर्ता गराएको जनाइएको छ ।

निर्वाचन समितिले बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ताको समय तोके पनि १०ः३० बजेसम्म पनि उम्मेदवारी दर्ताको काम भइरहेको थियो । ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउँसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम तय गरेको छ । तय कार्यक्रमअनुसार मङ्गलबार साँझ ५ बजेबाट मतदान सुरु हुनेछ ।