• ११ मंसिर २०८१, मङ्गलबार

मुम्बई फिल्म फेस्टिभल

‘द रेड सुटकेस’ र ‘गुराँस’ प्रतिस्पर्धामा

blog

काठमाडौँ, असोज २३ गते । भेनिसमा वल्र्ड प्रिमियर भएको फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ मुम्बई फिल्म फेस्टिभलमा साउथ एसिया कम्पिटिसनमा परेको छ । फेस्टिभलले सोमबार सार्वजनिक गरेको लाइनअपमा नेपाल–भारतको सहकार्य रहेको ‘गुराँस’ पनि प्रतिस्पर्धामा परेको छ । आइसफल प्रडक्सनले श्रीलङ्काको फिल्म काउन्सिल प्रडक्सनसँग मिलेर निर्माण गरेको ‘द रेड सुटकेस’ यसअघि जुरिक फिल्म फेस्टिभलमा पनि छनोट भएको थियो ।

‘द रेड सुटकेस’ बाहेक सौरभ राई निर्देशित ‘गुराँस’ पनि यही विधामा प्रतिस्पर्धी रहेको छ । यो चलचित्र पनि आइसफल प्रडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गर्नुभएको हो । लो आइक्यु प्रडक्सन, क्राउलिङ एन्जल फिल्म्स, निओनेट अडियो एलएलपीसमेत निर्माण रहेको ‘गुराँस’ भने चेक रिपब्लिकको कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्न सफल भएको फिल्म हो । ‘गुराँस’ को दुई दिनअघि मात्र दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमा साउथ एसियन प्रिमियर सम्पन्न भएको थियो । आफूले निर्माण गरेका दुवै चलचित्र फेस्टिभलमा छनोट भएकोमा निर्माता पोखरेलले प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले एउटै विधामा आफ्ना दुई फिल्म प्रतिस्पर्धामा रहनु दोहोरो खुसीको कुरा भएको बताउनुभयो । 

अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने फेस्टिभलमा यो साल २५० फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ । फेस्टिभलमा ४० वटा वल्र्ड प्रिमियर, ४५ वटा एसिया प्रिमियर, ७० वटा साउथ एसिया प्रिमियर हुने छन् । फेस्टिभलमा उद्घाटन र समापनमा देखाइने चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन ।