• १३ मंसिर २०८१, बिहिबार

सालकको उद्धारगरी सुरक्षित स्थानमा छोडियो

blog

कैलालीको घोडाघोडी –५ वनखेतमा भेटिएको लोपोन्मुख सालक । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), असोज २२ गते । कैलालीमा लोपोन्मुख प्रजातीको सालक फेला परेको छ । घोडाघोडी नगरपालिका –५ वनखेत शिबसमाज सामुदायिक बन छेउमा रहेको खानेपानी ट्याङ्कीनजिक लोपोन्मुख सालक फेला परेको हो । 

आइतबार राति वनखेत गाउँ पस्दैगरेको अवस्थामा स्थानीयहरूले सालकलाई देखेका थिए । वनका कर्मचारी राजु मिनेलको नेतृत्वमा गएको टोलीले सालकको उद्धार गरेको सबडिभिजन वन कार्यालय सुखडका प्रमुख नितेशराज भट्टराईले बताउनुभयो । 

१५ किलो तौल र ३.५ फिट लामो भाले सालक रहेको जनाउदै प्रमुख भट्टराईले घोडाघोडीमा असुरक्षित हुने भएकाले बर्दिया राष्ट्रिय निकुञ्जमा सोमबार छोडिएको बताउनुभयो ।

सालक नेपालमा अति लोपोन्मुख वन्यजन्तुमा पर्ने भए पनि छाला र हड्डीका लागि चोरी तस्करी हुँदैआएको बताइन्छ । गतबर्ष समेत सोही क्षेत्रमा सालक भेएिको थियो । 

प्राय दिनमा बाहिर ननिस्कने रातको समयमा निस्कने सालक रातको समयमा आहारा खोज्दै गाउँ पसेको हुनसक्ने बताइएको छ । धमिरा र किरा कमिला खाने सालकको छाला खपटा महंगो मुल्यमा किनबेच हुने भएकाले पनि सालकको चोरीसिकारी हुनसक्ने भएकाले सरोकारवालाले उद्धार गरेका हुन् ।  

सालक नेपाल, भारत, चीनलगायत दक्षिण एसियाली राष्ट्र तथा अफ्रिकाका उष्ण भूभागमा पाइन्छ ।  विश्वभर पाइने आठ प्रजातीका सालकमध्ये नेपालमा चाइनिज र इन्डियन प्रजातीका सालक पाइनेगरेका छन् । संरक्षणकर्मी हिरुलाल डंगौराले नेपालमा सेतो रंगको तामे सालकको तुलनामा कालो रंगको चाइनिज सालक लोपोन्मुख सङ्कटग्रस्त अवस्थामा रहेको बताउनुभयो । 

यसअघि सालक कैलारी गाउँपालिका –५ बंगालीपुर र भजनी नगरपालिकाको पशुपति सामुदायिक वनमा फेला परेको थियो । योसंगै कैलालीमा चारवटा सालक फेला परेको छ । फेला परेका सालकलाई बासस्थानमा असर नपर्ने वनक्षेत्रमा छोड्ने गरिएकोछ ।