विजयकुमार साह
ढल्केवर, असोज २२ गते । इजरायलको किबुज अलुमिममा विद्रोही समूहको आक्रमणबाट धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४, सपहीका २२ वर्षीय आनन्द साहको निधन भएपछि घरका सदस्य तथा आफन्तमा रुवाबासी चलेको छ । गाउँ नै शोकमा डुबेको छ ।
मृत्युको खबर सुनेसँगै आनन्दका पिता सोमन साह र आमा शुभकली साह मुर्छा पर्दै आउनुभएको छ । ७० वर्षीया हजुरआमा बसमतिया देवी, जेठी बहिनी सुनिता, माहिली बहिनी सरस्वती र कान्छी बहिनी आरती साह पनि पीडाले अचेत हुनेगरेका छन् ।
गाउँलेहरूले सम्झाउँदै चित्त बुझाउने प्रयास गरेपछि होसमा आउने परिवारका सदस्यमा रुवाबासी रोकिएको छैन । गाउँका सबैजसोको आँखा रसाएको छ । आनन्दको घटना सुनेर सिङ्गो गाउँ नै शोकमा छ ।
शुक्रबार आनन्दसँग बहनीले कुराकानी गर्नुभएको थियो । त्यसपछि फोन सम्पर्क हुन सकेन आनन्दका पिता सोमनले बताउनुभयो । उहाँले भन्नुभयो, “पटक–पटक फोनगर्दा पनि नउठेपछि माहिली छोरीले म्यासेज लेखेर पठायो । त्यसपछि छोरासँग गएका सिरहाका एकजना साथीले तिम्रो दाइ यो संसारमा नरहेको खबर पठाए ।”
इजरायलमा शनिवार भएको आतङ्ककारी हमलामा परी १० जना नेपाली नागरिकको मृत्यु भएको छ । त्यसमा आनन्द समेत पर्नुभयो । उहाँ गत भदौ २६ गते कृषिसम्बन्धी तालिम लिन इजरायल जानुभएको थियो ।
जनकपुरको एन्जल्स बोर्डिङ स्कुलबाट एसइई र मिट क्याम्पसबाट आइएससी उत्तीर्ण गर्नुभएका आनन्द सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर मल्टिपल क्याम्पस कैलालीमा एग्रिकल्चर बीएससीएजीमा अध्ययनरत हुनुहुन्थ्यो । उहाँलाई सोही क्याम्पसले अभ्यासका लागि इजरायल पठाउनुभएको थियो ।
एक्लो छोरा थिए
मृतक आनन्द सोमन साह र आमा शुभकली साहको एक्लो छोरा हुनुन्थ्यो । चार दिदीभाइमध्ये उहाँ जेठो हुनुहुन्थ्यो । उहाँपछिको जेठी बहिनी सुनिताको बिहेवारि भइसकेको छ ।