• ११ मंसिर २०८१, मङ्गलबार

छिटो उद्धारको माग गर्दै विद्यार्थीको मौन र्‍याली

blog

सरकारसँग छिटो उद्धारको माग गर्दै टीकापुरमा विद्यार्थीको मौन र्‍याली । तस्बिर : एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, असोज २२ गते । इजरायलको युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीको छिटो उद्धार होस् भन्दै टीकापुरमा विद्यार्थीले मौन र्‍याली निकालेका छन् । 

टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका दश जना विद्यार्थीको इजरायलमा हत्या भएको, चार जना घाइते भएको र एक जना हराइरहेकाले यहाँका विद्यार्थी र अभिभावकहरु छटपटीमा छन् । सोमबार बिहान भएको विद्यार्थीको मौन र्‍यालीमा अभिभावक पनि सहभागी भएका छन् ।

हाल इजरायलमा रहनुभएका निश्चल पाण्डेका बुबा उत्तम पाण्डे मेरोलगायतका सयौं छोराछोरी बङ्करमा लुकेर बसेको खबर पाउँदा छटपटी भएको बताउनुभयो । त्यहाँ फसिरहेकाको चाँडो उद्धार गरी सकुशल घर पुर्‍याउन उहाँले अपिल गर्नुभयो । 

अर्का विद्यार्थी सुष्मा रेग्मीका बुबा डिल्लीरमण रेग्मी आफ्ना छोरीलगायतका चार जनाले खान पाएको तर बङ्करमा बसिरहेकाले र उनीहरु आत्तिरहेकाले छिटो घर फर्काउन सरकारसँग अनुरोध गर्नुभयो । 

अग्रज विद्यार्थीको हत्या भएको र बाँचेकाहरु पनि समस्यामा रहेकाले आफूहरुलाई पनि पढन मन नलागेको उहाँहरुको भनाइ छ । मौन ¥याली गरेको स्नातक तह कृषि विज्ञान सङ्काय दोस्रो वर्षका विद्यार्थी गुरुप्रसाद अधिकारीले आफ्ना साथीहरु इजरायलमा फँसिरहँदा चिन्ता लागेको बताउनुभयो । 

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका उपप्राध्यापक आशिष घिमिरे अरु देशका सरकारले आफ्ना नागरिकलाई सुरक्षित स्थानतर्फ लगिसकेको तर हाम्रो सरकारले अहिलेसम्म पनि ‘पहल गर्दैछु’ मात्र भनिरहेकाले यता अभिभावक उता विद्यार्थी आत्तिएको बताउनुभयो ।  

इजरायलमा ज्यान गुमाउने सबै विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालयका छन् । नेपाल सरकार र इजरायल सरकारको समन्वयमा सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत आठौं सेमेष्टरका ४९ जना विद्यार्थी एक महिनाअघि लर्न एण्ड अर्न कार्यक्रममा इजरायल गएका थिए । 

इजरायलमा फसेकाहरु आफूले भोगेको समस्या देखाउँदै घटना भएको तीन दिनसम्म पनि उद्धार नहुँदा दुःख लागेको भन्दै सामाजिक सञ्जालबाट उद्धारको आग्रह गरिरहेका छन् ।