• १३ मंसिर २०८१, बिहिबार

पर्सामा ४४५ को आँखा परीक्षण : १५८ जनामा मोतियाबिन्दु

blog

पर्सा जिल्लाको संखुवापर्सौनी गाँउपालिका–२ श्रीपुरमा आँखा परीक्षण गरिँदै । तस्बिर :नेपाल नेत्रज्योति संघ आर.एम केडिया आँखा अस्पताल

वीरगञ्ज, असोज २१ गते । पर्सा जिल्लाको संखुवापर्सौनी गाउँपालिका–२ श्रीपुरमा ४४५ जनाको आँखा परीक्षण गर्दा १५८ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।

नेपाल नेत्रज्योति सङ्घ आर.एम केडिया आँखा अस्पतालको प्राविधिक र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक सहयोगमा संखुवापर्सौनी गाउँपालिका-२ श्रीपुरमा शनिबार एकदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर आयोजना गरिएको थियो ।

मोतियाबिन्दु देखिएको सबै बिरामीहरूको नेपाल नेत्रज्योति सङ्घ आर.एम केडिया आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने छ । आर्थिक अभावमा र पहुँचको अभावमा कोही पनि नागरिक आँखा उपचार सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले नेत्रज्योति सङ्घले विभिन्न स्वदेशी तथा दातृ निकायहरूसँगको सहकार्यमा देशैभरि वार्षिक हजारौँ निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ ।

छिमेक लघुवित्तले सामाजिक उत्तरदायित्वअन्तर्गत नेत्रज्योतीलाई शिविर सञ्चालनका लागि आर्थिक सहयोग प्रदान गरेको हो । सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढी आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरुमार्फन नेपाली नागरिकहरूलाई सस्तो मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ ।

स्थापना देखि हालसम्म सङ्घले आफ्ना अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमहरू मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल चार करोड दुई लाख ८६ हजार पाँच  जना आँखाका बिरामीहरूलाई आँखा उपचार सेवा र ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया सेवा प्रदान गरिसकेको छ ।