• २७ वैशाख २०८१, बिहिबार

गोरखामा एकैदिन दुईवटा सहरी स्वास्थ्य केन्द्र सञ्चालन

blog

थप दुईवटा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालनमा । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, असोज २१ गते । 
गोरखाको पालुङटार नगरपालिकामा थप दुईवटा सहरी स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । नगरपालिका भित्र आधारभूत स्वास्थ्य सेवाको सहज सुविधा पुग्न नसकेका क्षेत्रका नागरिकहरूमा सहज स्वास्थ्य उपचार सेवा पुर्‍याउनका लागि शनिबार एकै दिन दुईवटा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले जानकारी दिनुभयो ।

नगरवासीको घर आँगनमा नै स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले वडा नम्बर २ को चापभञ्ज्याङ र वडा न ३ को डुम्रेडाँडामा स्वास्थ्य केन्द्र सञ्चालन गरिएको उहाँले बताउनुभयो । ‘‘स्वास्थ्यचौकी र अस्पतालसम्म आइपुग्न समस्या रहेका ठाउँहरूको पहिचान गरी केन्द्र स्थापना गरिएको हो,’’ नगरप्रमुख चिन्तनले भन्नुभयो, ‘‘आधारभूत स्वास्थ्य सेवामा सहज सुविधा पुर्‍याउन नगरपालिकाले काम गरिरहेको छ ।’

केन्द्र सञ्चालनमा आएपछि अबदेखि त्यस क्षेत्रका जनतालाई स्वास्थ्य उपचारमा सजिलो हुने उहाँले बताउनुभयो । सहरी केन्द्रबाट नियमित खोप, दैनिक बिरामी जाँच, सुरक्षित मातृत्व, पोषण लगायतका स्वास्थ्य सेवा प्रदान गरिने नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सृजना प्रोखरेलले जानकारी दिनुभयो ।

स्वास्थ्य केन्द्रमा दुई जना स्वास्थ्यकर्मीसहित तीन जना कर्मचारी रहने उहाँको भनाइ छ । ‘‘केन्द्रमा एक जना अहेब, एक जना अनमी र कार्यालय सहायकको दरबन्दीको व्यवस्था गरिएको छ,’’ उहाँले भन्नुभयो, ‘‘नागरिकहरूलाई केन्द्रबाट सबै खालका आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइन्छ ।’’

चापाभन्ज्याङ र डुम्रेडाँडा आसपासका जनताले सामान्य उपचारका लागि पनि धाएरै घण्टै लाग्ने आँपपिपल र अन्य ठाउँमा जानु पर्ने बाध्यता रहेको थियो । नजिकको स्वास्थ्य संस्थामा आधारभूत स्वास्थ्य सेवाका लागि पनि करिब दुई घण्टामा सम्मा धाएर पुग्नु पर्ने बाध्यता रहेको ती क्षेत्रका बासीन्दाहरुलाई केन्द्र सञ्चालनमा आएसँगै स्वास्थ्य उपचारका लागि सहज हुने उहाँको भनाइ छ ।

पालुङटार नगरपालिकामा यस अघि पाँच वटा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको थियो । थप दुईवटा नयाँ केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएसँगै अब नगरपालिका भित्र रहेको सहरी स्वास्थ्य केन्द्रको सङ्ख्या सात पुगेको छ ।