• १३ साउन २०८१, आइतबार

चिया विस्तार आयोजना

सेवाग्राही आउँदैनन्, कर्मचारी जाँदैनन्

blog

राधा लुइँटेल

फिदिम, असोज २१ गते । फिदिम नगरपालिका–३, लालीखर्कमा रहेको चिया विस्तार आयोजनामा कार्यालय प्रमुख, प्राविधिक, कार्यालय सहयोगी र श्रमिक गरी १० जना कर्मचारी छन् । यति कर्मचारी रहेको यो कार्यालयको जनशक्तिलाई पर्याप्त काम छैन । उनीहरू प्रायः कार्यालय आउने र जाने काम मात्रै गर्छन् ।

यो कार्यालयको उद्देश्य चिया र कफीको खेती विस्तारका लागि नर्सरी स्थापना गर्ने, बिरुवा रोप्ने र दुवै बालीमा माटो र हावापानी सुहाउँदो प्रविधिको अनुसन्धान र परीक्षण गर्नु हो । योसँगै चिया र कफी खेतीमा लागेका किसानलाई प्राविधिक परामर्श दिन तालिम गोष्ठी र सेमिनार सञ्चालन गर्ने पनि यही कार्यालयको जिम्मेवारी हो ।

विडम्बना यो छ कि कार्यालयमा न त कुनै सेवाग्राही प्रविधि सिक्न आइपुग्छन्, न त कर्मचारी नै किसानका घरदैलोमा पुग्छन् । सरकारले कार्यक्रम गर्ने बजेट थोरै दिने गरेकाले तलब खाएर बस्नुको विकल्प नरहेको कर्मचारी बताउँछन् ।

गत आर्थिक वर्षमा चालुतर्फ ८३ लाख ७६ हजार रुपियाँ स्वीकृत भएको थियो । यो वर्ष कार्यक्रम खर्च झनै कटौती भएको छ । “स्वीकृत बजेटमध्ये ४० लाख रुपियाँभन्दा धेरै कर्मचारीको तलब भत्तामा खर्च हुन्छ । बाँकी बजेटबाट नर्सरी विस्तार, किरा, रोगको पहिचान र उपचारसहित किसानलक्षित तालिम गोष्ठीलगायत सबै कार्यक्रमको बजेट काटिएको छ, तलब खाएर बस्नुको विकल्प छैन,” कार्यालय प्रमुख फूलमाया आङ्बोले भन्नुभयो ।

आयोजनाले झन्डै तीन दशकअघि फिदिमको एक सय र चिलिङदिनको ३५ र एकतिनमा रहेको २९ मध्ये आठ गरी १४३ रोपनी जग्गालाई नमुना प्लटका रूपमा विकास गर्न भन्दै चिया रोपेको थियो । आवश्यक गोडमेल र स्याहार हुन नसक्दा रोपिएको चियाबाट पनि सोचेजस्तो आम्दानी लिन नसकिएको आयोजनाको दाबी छ । पाँचथर, इलाम र धनकुटासहित ११ वटा जिल्लामा चिया विस्तार आयोजना कार्यालय छन् । गतवर्षका लागि स्वीकृत बजेट कटौती हुँदा पाँचथर र ताप्लेजुङमा माटो परीक्षण, नर्सरी स्थापना, चिया र कफीको क्षेत्र विस्तार, प्रवर्धन, नयाँ प्रविधिको परीक्षणलगायतका काम प्रभावित भएको उहाँको भनाइ छ । 

सरकारले २०३९ सालमा पूर्वका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमलाई चिया क्षेत्र घोषित गरेको थियो । यहाँका करिब १७ हजार चार सय हेक्टर क्षेत्रफलमा व्यावसायिक चिया खेती भइरहेको तथ्याङ्क छ । पछिल्लो समय कफी खेती गर्ने किसानको सङ्ख्या पनि बढेको छ । सरदर ४५ हजार किसानको दीर्घकालीन आम्दानीको माध्यम बनेको चिया तथा कफी खेती विस्तार प्रवर्धन राज्यको प्राथमिकतामा नपरेको उहाँहरूको गुनासो छ । 

“साना किसानलाई सहयोग पुग्ने कार्यक्रमको प्रस्तावना लिएर कार्यालय जाँदा बजेट छैन भनेर फर्काइन्छ,” फिदिम–३ का चिया किसान टङ्क राई भन्नुहुन्छ । साना किसानलाई चियाको टिपाइ र प्रशोधनसँगै सुकाउने ड्रायर मेसिनसम्मको आवश्यकता रहेको उहाँ सुनाउनुहुन्छ ।