• १ जेठ २०८२, बुधबार

वास्तु शास्त्र अध्ययनका लागि दुई विश्वविद्यालयबीच सम्झौता

blog

फाइल तस्विर

काठमाडौँ, असोज २० गते । वास्तु शास्त्रको अध्ययन अनुसन्धानका विषयमा नेपाल संस्कृत विश्वविद्यालय र महर्षि अन्तर्राष्ट्रिय विश्वविद्यालय आयोवा अमेरिकाबीच सम्झौता भएको छ । दुवै देशका विद्वानलाई सहभागी गराएर नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको वास्तुसम्बन्धी छ हप्ते गोष्ठी समापनका अवसरमा आज विश्वविद्यालयबीच सम्झौता भएको हो । 

नेपाल संस्कृत विश्वविद्यालयका तर्फबाट वास्तु इन्जिनियरिङका डीन बीरेन्द्र खड्का र महर्षि अन्तर्राष्ट्रिय विश्वविद्यालय आयोवा अमेरिकाका डीन जोन लिपम्यानले हस्ताक्षर गर्नुभयो । पछिल्लो समय नेपालमा वास्तुको अध्ययन, अध्यापनमा कमी आएका बेला त्यसलाई प्रवर्द्धन गर्ने उद्देश्यले दुवै देशका विद्वानलाई सहभागी गराएर छ हप्ते कार्यक्रम आयोजना गरिएको हो । 

शान्ति र समृद्धिका लागि वास्तुसम्बन्धी ज्ञान र प्रयोग अपरिहार्य भएको उल्लेख गर्दै पूर्वीय दर्शनको वास्तुसम्बन्धी ज्ञान पश्चिमा देशमा पुगेपछि वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको र यसको उत्पत्तिस्थल नेपालमा पुनरुत्थान गर्न लागिएको छ ।

यसअघि चार वटा प्रशिक्षणात्मक वास्तुसम्बन्धी गोष्ठी नेदरल्याण्डमा सम्पन्न गरिएको थियो । नेपालमा यस किसिमको पहिलो कार्यक्रम गरिएको पनि फाउन्डेसनले जनाएको छ । कार्यक्रममा एसिया, युरोप, उत्तर तथा दक्षिण अमेरिका र अष्ट्रेलिया महादेशका १४ देशका २४ जना आर्किटेक इन्जिनियरको सहभागिता रहेको थियो ।

वास्तुका नियम पालना गर्नुपर्नेमा जोड 

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाली संस्कृतिसँग जोडिएकाले सूर्यको तापसँग सम्बन्धित वास्तुको नियम पालना गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले वास्तुका क्षेत्रमा पूर्वीय र पश्चिमी देशका अनुभवलाई मिलान गर्न विभिन्न १४ देशका वास्तु इन्जिनियरलाई बोलाएर कार्यक्रम गरी नेपालकै गौरव वृद्धि गरेको बताउनुभयो ।

ठूला भवनलगायत निर्माण गर्दा वास्तुका नियम पालना गरे सफलता पाइने उल्लेख गर्दै मन्त्री साउदले जलवायु परिवर्तनबाट आएका समस्या समाधानका लागि पनि वैदिक नियम पालनाले सहयोग गर्ने विचार राख्नुभयो । 

सांसद डा.स्वर्णिम वाग्लेले वेदलाई आधार मानेर विकास भएको वास्तु शास्त्रका आधारमा भवन एवम् संरचना निर्माण गर्दा सकारात्मक ऊर्जा प्राप्त हुने गरेको बताउनुभयो । यस क्षेत्रमा लागेका पूर्व र पश्चिमा देशका विज्ञको छ हप्ते कार्यक्रमले यस क्षेत्रलाई आधुनिकरुपमा अघि बढाउन सहयोग गर्ने उहाँको विश्वास थियो ।

आयोजक संस्था फाउन्डेसनका अध्यक्ष एवम् पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले वैदिक ज्ञानका विषयमा विश्वका मुख्य छ सय विश्वविद्यालयमा वैज्ञानिक अनुसन्धान सही सावित गरेकाले नेपाललाई वैदिक बनाउन आफू राजनीति र सहकारी क्षेत्र छाडेर लागेको बताउनुभयो । वास्तुका विषयमा पनि वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएका विषयलाई जनसमक्ष लैजान नेपालमा छ हप्ते तालिम आयोजना गरिएको उहाँले जानकारी गराउनुभयो । 

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेले विश्वविद्यालयले स्थापनाकालदेखि नै प्राचीन विषयका साथै आधुनिक विषयलाई पनि लैजाने उद्देश्यअनुसार नै वास्तु इन्जिनियरिङको कक्षा सुरु गरिएको बताउनुभयो । 

कार्यक्रममा पूर्वमन्त्री एवम् विश्व हिन्दू महासङ्घका अध्यक्ष डा.रामचन्द्र अधिकारी, संस्कृतिविद डा. चिन्तामणि योगी, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, महर्षि अभियानका दक्षिण एसिया निर्देशक डा.किङ्स्ली बु्रक्सलगायतले महर्षि अभियानका १२ क्षेत्रले वैदिक ज्ञानका आधारमा काम गर्ने गरेको बताउनुभएको थियो । रासस