• ४ जेठ २०८१, शुक्रबार

सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते

blog

फाइल तस्विर

मनहरी (मकवानपुर), असोज १० गते । मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान त्रिभुवनराजपथ सडकखण्डमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ३९८७ नम्बरको कन्टेनर मकवानपुरको थाहा नगरपालिका-१ कुन्छालस्थित सडकमा दुर्घटना हुँदा चालक नुवाकोटको बेलकोट-५ का ४२ वर्षीय दीप श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

कन्टेनर मोडमा आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको थियो । मृतक श्रेष्ठको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको प्रवक्ता भण्डारीले बताउनुभयो । 

त्यस्तै, आज हेटौँडा-१८ ठूलोदमार चौक नजिकै अटोले स्थानीय सानुबाबु ब्लोनको छोरा ४ वर्षीय सन ब्लोनलाई ठक्कर दिँदा ब्लोन गम्भीर घाइते भएका छन् । घाइते ब्लोनलाई उपचारका लागि हेटौँडा अस्पतालबाट चितवन पठाएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बालकको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि चितवन पठाइएको हो । रासस