• ७ जेठ २०८१, सोमबार

विद्यार्थीलाई सिर्जनशील बनाउन सङ्गीत कक्षा सञ्चालन

blog

विद्यालयमा तयार पारिएको बाद्यवादन सहितको संगीत कक्षा ।

ठाकुुरप्रसाद आचार्य

म्याग्दी,असोज २० गते । विद्यार्थीलाई सिर्जनशील बनाउन म्याग्दीको एक विद्यालयले सङ्गीत कक्षा सुरु गरेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको ज्ञानप्रकाश माविले विद्यार्थीहरूका लागि सङ्गीत कक्षा सञ्चालन गरेको हो । 

विद्यालयमा हरेक दिन साँझ ४ देखि ५ बजेसम्म नियमित सङ्गीत कक्षा सञ्चालन गरिँदै आएको छ । सङ्गीत कक्षाले नेपाली गीतसङ्गीतको संरक्षण हुनुका साथै विद्यार्थीहरूमा भएको अतिरिक्त क्षमता वृद्धिमा सहयोग पुग्ने आशा गरिएको विद्यालयका प्रधानाध्यापक शान्त नेपालीले बताउनुभयो । गीतसङ्गीतमा रुचि राख्ने विद्यार्थी, शिक्षकको सहयोगमा आधारभूतदेखि मावि तहसम्मका विद्यार्थीलाई गीतसङ्गीत सिकाउने गरिएको प्रधानाध्यापक नेपालीले बताउनुभयो । सबै विद्यार्थीलाई अनिवार्य गरेका छौ उहाँले भन्नुभयो, ‘‘गीतसङ्गीतले विद्यार्थीलाई सिर्जनशील बनाउँछ, फुर्तिलो बनाउनुका साथै हाम्रो लोकभाका तथा गीतसङ्गीतको संरक्षणमा टेवा पु¥याउँछ ।’’ 

सङ्गीत प्रशिक्षक नहुँदा सम्म आफैले  दैनिक रूपमा विद्यार्थीहरूलाई सिकाउँदै आएको प्रअ नेपालीले  बताउनुभयो । विद्यालयका सबै विद्यार्थीलाई गाउन र वाद्यवादन सिकाउने र सुरिलो स्वर भएकालाई गायकगायिकाको रूपमा उत्पादन गर्ने लक्ष्य  रहेको प्रधानाध्यापक नेपालीको भनाई छ । 

सङ्गीत अपार चिज हो, पढाइमा मेधावी विद्यार्थीले पनि जीवन जिउने गीतसङ्गीतको आवश्यकता छ । गीतसङ्गीतमा रुचि राख्ने विद्यार्थीको सङ्ख्या बढ्न थालेपछि दसैँतिहारको बिदापछि कक्षा सञ्चालनको तालिका समेत बनाउने  विद्यालयले जनाएको छ । 

नमुना विद्यालयमा छनौट भएको ज्ञानप्रकाश माविले करिब २ लाखको लागतमा बाँसुरी, खैजडी, मुजुरा, मादल, हार्मोनियम, किबोर्ड,  गितार, सारङ्गी लगायतका बाजा खरिद गरेको छ। आगामी दिनमा विद्यार्थी सँगै अभिभावकलाई समेत सङ्गीत कक्षामा समावेश गर्ने विद्यालयले तयारी गरेको छ । सङ्गीत कक्षाबाट उत्पादन भएका कलाकारहरूले विद्यालयमा आयोजना हुने सांगेतिक कार्यक्रम तथा समुदायस्तरमा पुगेर सङ्गीत सिकाउने र सांगेतिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको पनि जानकारी गराउनुभयो।