• १३ मंसिर २०८१, बिहिबार

मर्मत अभावमा ग्रामीण सडक प्रयोगविहीन

blog

वर्षाका कारण सडक हराएको सेरीभर्ता सडक । तस्विर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, असोज २० गते । वर्षाको पानीले सडक बिगारेपछि कालीकोटका ग्रामीण सडक अहिले प्रयोगविहीन भएका छन् । स्थानीय सरकारले खनेका सडक वर्षातको पानीले पूर्णतः बिगारेपछि सडक प्रयोगमा छैनन् । 

सडकको मर्मत गर्नेतर्फ स्थानीय सरकारले ध्यान नदिएपछि ग्रामीण सडकमा मान्छे हिँड्न पनि मुस्किल रहेको स्थानीयको भनाइ छ । मर्मत सम्भार नभएका कारणले ग्रामीण सडक प्रयोगविहीन भएको स्थानीयको गुनासो छ । जिल्लाको शुभकालिका गाउँपालिका जोड्ने सेरी भर्ता, सेरी सुकाटिया सडक पहिरोले पुरिएका छन् । 

शुभकालिका २ का पार्वती तिमिल्सेनाले चाडबाडका बेला गाउँमा गाडी पुग्छन्की पुग्दैन भनेर चिन्ता रहेको बताउनुभयो । उहाँले गाडी नपुगेको खण्डमा बच्चालाई घर ल्याउन पनि मुस्किल रहेको बताउनुभयो । 

ठाडो उकालो भएकाले सेरीघाट बजारदेखि गाउँ पुग्न ५ घण्टा समय लाग्छ । कतिपय त दशैका दिन मात्र आउने हुन्छन्, उनीहरूका लागि गाउँ पुग्ने समय अपुग हुने र दसैँमा घर आउँदा झन् सास्ती हुने पार्वतीको भनाइ छ । 

वडा २ का अध्यक्ष मुनबहादुर शाहीले वडासँग बजेट नभएकाले सडक खुलाउने सोच पूरा हुन नसकेको बताउनुभयो । “यस्ता कुरा गाउँपालिका अध्यक्ष र योजना शाखाले सोच्ने हो । अघिल्लो सरकारको पालामा हामीलाई अधिकार थियो” उहाँले भन्नुभयो । 

यसपाली न अधिकार दिएको छ, न त वडामा बजेट दिएको छ । त्यसैले वडा सरकारले सडक खुलाउन सक्ने अवस्था नभएको अध्यक्ष शाहीले बताउनुभयो ।  तिलागुफा नगरपालिका वडा ७ र ८ को सडक पनि उस्तै छ । बर्षातले ठाउँ ठाउँमा पहिरो झरेको छ भने मर्मत नभएका कारणले तिहारको मुखमा पैदल गाउँ जानु पर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । 

रोजगारीका लागि मान्म बस्दै आउनुभएका तिलागुफा नगरपालिका ७ का विक्रमबहादुर शाहीले सडक मर्मत भएर गाडी चढेर जाउँला भन्ने आस मरेको बताउनुभयो । सरकार सुन्दैन, गाउँका सडक प्रायः उस्तै भएकाले गाउँका नागरिक दसैँ मान्न पहिले वर्षजस्तै पैदल जानुपर्ने अवस्था छ उहाँले भन्नुभयो ।

स्थानीय सरकारले गाउँमा सडक पुगाएको भन्दै प्रचार गरे पनि सडक मर्मत नहुँदा प्रयोगविहीन बनेको छ । तिलागुफा ५ का लिलाराम न्यौपानेले वातावरणीय प्रभाव मूल्याङ्कन नगरेका कारणले गाउँका सडक प्रयोगविहीन भएको बताउनुभयो । उहाँले बेकारमा राज्यको बजेट भिरपाखामा खेर फालेको बताउनुभयो । चाहिने सडकभन्दा पनि नचाहिने ठाउँमा डोजर लगाएका कारणले न सडक बन्यो न बजेट नै बच्यो, उहाँले भन्नुभयो ।