सन्तोष सुवेदी
कास्की, असोज २० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनोट, बजेट विनियोजनमा प्राथमिकता दिइएको बताउनुभएको छ । ‘‘गण्डकी प्रदेश समृद्धिको मुख्य क्षेत्र पर्यटन हो, यसमा पनि जिल्लागत विविधता छ,’’ उहाँले भन्नुभयो, ‘‘मुस्ताङलाई हामीले पर्यटन र कृषिमा केन्द्रित गरेका छौँ ।’’
मुक्तिनाथ मन्दिर, कागबेनी धार्मिक क्षेत्र, कोरोला नाका र उच्च हिमाली मैदानमा खेल अभ्यास गर्ने पर्यटकलाई लक्षित बजेटसहित कार्यक्रममा प्रदेश सरकारको प्राथमिकता रहेको उहाँले बताउनुभयो ।
‘‘पर्यटनसँगै कृषिलाई पनि प्राथमिकता दिनुपर्छ, यहाँ उत्पादन हुने कयौँ थरीको स्याउ, आलु निकै प्रख्यात छ । हरेक रेष्टुरेन्टका मेनुमा हुने मुस्ताङी आलु हामीले पुर्याउन सकेका छैनौँ, अब पुर्याउने गरी सामूहिक खेती गर्नुहोस्, प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान दिनेछ,’’ उहाँले भन्नुभयो ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा भएको दोस्रो पञ्चवर्षीय योजना निर्माणको क्रममा मुस्ताङमा आयोजित सरोकारावालाहरुको अन्तरक्रियामा मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उत्पादनमा आधारित अनुदानले किसानलाई व्यावसायिक हुन प्रेरित गर्नुका साथै बढ्दो बिदेसिने दर र बेरोजगारको समस्या कम हुने अपेक्षा प्रदेश सरकारको रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
पछिल्लो समय जलवायु परिवर्तनको प्रत्यक्ष असर बढ्न थालेको बताउनुहुँदै उहाँले कागबेनीमा साउन २८ गतेको बाढी, उत्तरी भेगमा बढ्दो वर्षात, उत्पादनमा ह्रास यसैको प्रभाव रहेको बताउनुभयो । ‘‘‘जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने गरी हाम्रा योजना र कार्यक्रम बन्नुपर्छ,’’ उहाँले भन्नुभयो ।