• १४ मंसिर २०८१, शुक्रबार

सञ्चारमैत्री बनाइँदै नार्पाभूमि

blog

यदुप्रसाद भट्ट

मनाङ, असोज २० गते । हिमाली जिल्ला मनाङको विकट पालिका नार्पाभूमि सञ्चारमैत्री बनाइँदै छ । गाउँपालिकामा लघु जलविद्युत् र सौर्य ऊर्जा (सोलार) को माध्यमबाट इन्टरनेटको पहुँचमा पुर्‍याउने उद्देश्यले योजना निर्धारण गरिएको छ ।

नार्फु र मेतामा रहेको लघु जलविद्युत् र सौर्य ऊर्जाको भरमा गाउँपालिकालाई सूचना प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ । नार्पाभूमि गाउँपालिकामा हालसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भने भएको छैन । पालिकाले पालिकावासीलाई सहज र छिटो सूचना प्रवाह गर्न सञ्चारमैत्री बनाउने योजना बजेट तथा कार्यक्रममा नै समावेश गरी अगाडि बढेको छ ।

तिब्बतको सिमानासँग जोडिएको पालिकालाई सञ्चारमैत्री बनाएर सूचना प्रचारप्रसार गर्ने योजनामा राखिएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले जानकारी दिनुभयो । मोबाइलको नेटवर्कको समस्या भएकाले सूचना प्रवाहका लागि सहज बनाउन वाइफाईको नेटवर्कमार्फत सूचना प्रवाह गर्ने लामाले बताउनुभयो । ‘विकट स्थान भएकाले वाईफाईको नेटवर्क लाग्छ । तर, मोबाइलको नेटवर्कको समस्या रहेको छ । त्यसैले वाईफाईको सहजता कायम गर्न गाउँपालिकाले यस योजनालाई प्राथमिकता दिएको हो’, अध्यक्ष लामाले भन्नुभयो– ‘नार्पाभूमिवासीका आफन्त धेरै विदेशमा बसोबास गर्ने भएकाले वाईफाईको पहुँचलाई प्राथमिकतामा राखेका छौँ । यसले सूचना पनि सहज र छिटो पाउनेछन् ।’

गाउँपालिकाको भवनका साथै पालिकाका पाँच वटै वडामा एकैसाथ डिजिटल डिस्प्लेबाट सूचना प्रवाह गर्ने व्यवस्थापन गर्न लागिएको उहाँले बताउनुभयो । गाउँ सभा, गाउँ कार्यपालिकाको सबै निर्णय डिजिटल डिस्प्लेमा प्रसारण गरिने उहाँले बताउनुभयो । ‘डिजिटल डिस्प्लेमार्फत सूचना प्रवाह गरिँदा पालिकाको सबै कार्य तथा पारदर्शिता कायम गर्न टेवा पुग्नेछ’ –लामाले भन्नुभयो ।

गाउँपालिकाको भवनमा डिजिटल डिस्प्ले जडानका लागि ६ लाख ३० हजार बजेट विनियोजन गरिएको छ । गाउँ सभाबाट पालिकालाई सूचना, सञ्चार, प्रविधिमैत्री बनाउन आवश्यक विभिन्न अतिरिक्त सामग्री खरिद गर्न ८५ हजार र सूचना प्रविधि शाखा विविध व्यवस्थापनका लागि १ लाख २५ हजार विनियोजन गरिएको छ ।