गोविन्द शर्मा
बाँके, असोज २० गते । नेपालगन्जमा मङ्गलबारदेखि जारी कर्फ्यु र निषेधाज्ञाको समय घटाइएको छ । बिहीबार र शुक्रबार राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लाग्दै आएकोमा शनिबार राति ८ बजेदेखि बिहान ४ बजेसम्म मात्रै कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।
नेपालगन्जमा दिउसो निषेधाज्ञा र रातिको समयमा कर्फ्यु लाग्दै आएको छ । शनिबार बिहान ९ बजेदेखि राती ८ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ । यसअघि बिहान ८ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा जारी हुँदै आएकोमा शनिबार एक घण्टा घटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जना भन्दा बढी मानिसहरू जम्मा हुन नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी अधिकारी आचार्यले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले समग्र जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न र मानव अधिकारको सम्मान गर्न सबैमा अनुरोध गर्दै सार्वजनिक स्थलमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलापहरू, सामाजिक सञ्जालमा कुनै व्यक्ति सङ्घ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्याउने वा धार्मिक विद्वेष फैलाउने तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न हार्दिक आव्हान गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।