• २२ असार २०८१, शनिबार

जलकुम्भीबाट कम्पोस्ट मल

blog

बाबुराम कार्की 

वराहक्षेत्र, असोज २० गते । जैविक खेती प्रणालीलाई सहयोग पुर्‍याउने उद्देश्यले मिचाहा प्रजातिको जलकुम्भी झारबाट कम्पोस्ट मल बनाउन सुरु गरिएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षको सिमसार क्षेत्रमा रहेको जलकुम्भी झारबाट कम्पोस्ट मल बनाउन थालिएको हो । 

कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रका किसानलाई जैविक खेती गर्न उत्प्रेरित गराउन मल बनाउन सुरु गरिएको कोशीटप्पु सिकाइ थलो (लर्निङ ग्राउन्ड्सका) अध्यक्ष राजकुमार सिंहले जानकारी दिनुभयो । आरक्षको मध्यवर्ती क्षेत्रमा जीविकोपार्जन, संरक्षण र शिक्षामा काम गर्दै आएको संस्थाले मध्यवर्तीको सिमसार क्षेत्रलाई संरक्षण गर्न जलकुम्भी हटाउने अभियान चलाएको छ । सिमसारसँग जोडिएका मध्यवर्ती क्षेत्रका स्थानीय कृषकलाई कम्पोस्ट मल बनाउने सिप सिकाएर जलकुम्भी झार नियन्त्रण गर्न सुरु गरिएको उहाँले बताउनुभयो । कोशी गाउँपालिका–३ मा जलकुम्भी झार सङ्कलन र कटिङ गरेर कम्पोस्ट मल बनाउन सुरु गरिएको छ । कोशीटप्पु मध्यवर्ती क्षेत्रका ताल र सिमसार क्षेत्रमा अहिले ढकमक्क जलकुम्भी छ । झारले गर्दा मध्यवर्ती क्षेत्रका सिमसार क्षेत्र भरिभराउ छन् । 

तराईका सिमसार क्षेत्रमा ठुलो समस्याका रूपमा देखा परेको मिचाहा प्रजातिको जलकुम्भी झारबाट कम्पोस्ट मल बनाउन सुरु गरेसँगै जलकुम्भी झारको समेत नियन्त्रण हुने भएको छ । अध्यक्ष सिंहले भन्नुभयो, “मध्यवर्ती क्षेत्रको सिमसार क्षेत्र नै ढाकेको झारलाई नियन्त्रण गर्न कम्पोस्ट मल बनाएर खेतबारीमा हाल्ने वातावरण बनाउन र जैविक खेतीमा टेवा पुग्ने भएकाले कम्पोस्ट मल बनाउन थालेका छौँ ।”

मिचाहा झारको व्यवस्थापन गर्न कम्पोस्ट मलले ठुलो भूमिका खेल्ने भएकाले मल बनाउने प्रयास अगाडि सारिएको छ । मिचाहा प्रजातिको प्रकोप बढिरहेको अवस्थामा जलकुम्भी झारबाट मल बनाउने कामलाई निरन्तरता दिन सकियो भने मिचाहा झारको व्यवस्थापनमा सहयोग पुग्ने स्थानीय नेचर गाइड अनिश तिम्सिनाले बताउनुभयो ।

के हो जलकुम्भी ?

जलकुम्भी पानीमा हुर्कने वनस्पति हो । यो पानीमा छिटो सर्ने र फैलने गर्छ । तराईमा वर्षायामसँगै यो झार नदी, तलाउ, जलाशय, खोल्सा र सिम क्षेत्रहरूमा मौलाएर आउने गर्छ । यो झार जरा, काण्ड, पातबाट पनि सर्ने गर्छ । 

तराईका सिम क्षेत्र र जङ्गलमा जलकुम्भी, सेतो वनमारा र लहरे वनमाराले रैथाने वनस्पतिलाई बढ्न र हुर्कन दिँदैनन् । मिचाहा झार छिटो बढ्ने र जरा, काण्ड, पातबाटै सर्ने क्षमता हुने भएकाले यी प्रजातिका झार जुनसुकै ठाउँमा पनि छिटो फैलन्छ । यस्ता झारबाट मल बनाउन सके बिरुवा फस्टाएर जाने कृषि प्राविधिक नीरबहादुर राई बताउनुहुन्छ ।