गुणबहादुर रोका
सुलीकोट, असोज १९ गते । गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखकाली मन्दिर भक्तजनका लागि खुला गरिएको छ । २०७२ सालको विनाशकारी भूकम्पले मन्दिरको आधा भागमा क्षति पुर्याउँदा विगत लामो समयदेखि भक्तजनहरुले दरबारको ढोका बाहिरबाटै दर्शन गरेर फर्कनुपर्ने अबस्था रहेको थियो । मन्दिर प्रवलीकरण सकिएसँगै पूजाआजाका लागि मन्दिर खुला गरिएको गोरखा हेरचाह अड्डा गोरखाका निमित्त प्रमुख शारदाप्रसाद भट्टाराईले बताउनुभयो ।
गत असार महिनामा प्रबलीकरणको काम सम्पन्न सकिएसँगै जेठ महिनामा क्षमा पूजा गरेर दैनिक पूजाआजा कार्य सुरु गरिएको उहाँले बताउनुभयो । मन्दिरको पुनर्निर्माण सकिएता पनि मन्दिरभित्र केही व्यवस्थापन मिलाउनुपर्ने भएकाले असोज महिनाबाट मात्र वास्तविक मन्दिरसम्म पुगेर पूजाआजा सुरु गरिएको निमित्त प्रमुख भट्टराईको भनाइ छ ।
२०७२ सालको विनाशकारी भूकम्पले गोरखा दरबार र कालिका मन्दिरमा क्षति पुर्याएको थियो । मन्दिरको पूर्वी र दक्षिण भाग चर्किएको थियो भने झिँगटीको छाना खसेर पानी चुहिन थालेपछि प्रबलिीरण गरिएको उहाँले बताउनुभयो ।
मन्दिर प्रबलीकरणका लागि २०७८ साउन १५ गते धर्म एस आरआर जेभीसँग सम्झौता भएको थियो । सम्झौता भए अनुसार ठेकदार कम्पनीले २०७९ असार १५ गतेसम्म सम्पन्न गर्नुपर्ने थियो । तर समय सीमाभित्र काम सम्पन्न नभएपछि २०७९ चैत ३० गतेसम्म सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । सो अवधिमा महत्त्वपूर्ण काम सम्पन्न भएपनि बाँकी काम भने असार मसान्तसम्म सम्पन्न गरेको निमित्त प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
गोरखा हेरचाह अड्डाका अनुसार कुल एक करोड ९५ लाख लागतमा कालिका मन्दिर र रंगमहलको प्रबलीकरण गरिएको हो । पुरानो संरचनामा कमजोर देखिएको भागको मात्र मर्मत गरिएको हेरचाह अड्डाको प्रमुख हरि भुसालले बताउनुभयो । पूरै भाग नभत्काई जुन भाग कमजोर देखिएको छ त्यो भाग भत्काएर अरु भागलाई प्रबलीकरण गरिएको हो ।
मन्दिरको पश्चिम भागको गारो सोझाउने, जग बलियो बनाउने, मन्दिरभित्र स्थायी टेका लगाउने, भुइँमा तेलिया बिछाउने, प्लाष्टर गर्ने, झ्यालढोकाहरु मर्मत गर्ने, रंगमहलको मर्मत गर्ने र छानाभन्दा मुनिको कोठा पूरै भत्काएर पुनर्निर्माण गर्ने काम सकिएसँगै अबका दिनबाट मुख्य कालिका मन्दिरबाट भक्तजनहरुले पूजाआजा गर्न पाउने व्यवस्था गरिएको प्रमुख भुसालले बताउनुभयो ।