• २८ वैशाख २०८१, शुक्रबार

नेपालमा आर्थिक वृद्धिको ठूलो सम्भावना छ : जापानी केन्द्रीय बैंकका पूर्व गभर्नर कुरोदा

blog

काठमाडौं, असोज १९ गते । जापानी केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्व गभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौति रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउनु भएको छ । 

काठमाडौँको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्व अध्यक्षसमेत रहनुभएका कुरोदाले नेपाली अर्थतन्त्रमा केही समस्या रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको उल्लेख गर्नुभएको हो । 

मेरो विचारमा थप ऋण लिनुअघि नेपाल सचेत हुनुपर्छ । ऋण नै लिनुपर्ने अवस्था भए पनि एसियाली विकास बैंक र विश्व बैंकजस्ता संस्थाबाट सहुलियतपूर्ण ऋण लिनुपर्छ ।

पूर्वगभर्नर कुरोदाले १० वर्षअघि पनि नेपाल भ्रमणमा आएको स्मरण गर्दै  यस १० वर्षको अवधिमा नेपालको अर्थतन्त्रमा आफूले ठूलो परिवर्तन महसुस गरेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘पछिल्लो १० वर्षमा नेपालको आर्थिक विकासबाट म प्रभावित भएको छु र यहाँ आर्थिक विकासको अझै प्रचुर सम्भावना छ।’’ 

उहाँले नेपालको अर्थतन्त्रका तीनवटा क्षेत्रमा आफूले सम्भावना देखेको चर्चा गर्दै उहाँले नेपालमा मानव स्रोत, जलस्रोत र पर्यावरणीय स्रोत प्रचुर रहेको छ, यस्ता स्रोतको सदुपयोग गर्नसके नेपालमा आर्थिक विकास हुने बताउनुभयो । 

उहाँले नेपालमा अझै धेरै चुनौति रहेको उल्लेख गर्दै नेपाल सरकार र यहाँको राजनीतिक नेतृत्वले त्यसबारे ध्यान दिनेमा आफू विश्वस्त रहेको बताउनु भयो । उहाँले नेपाल भ्रमणका क्रममा आफूले यहाँका अर्थशास्त्रीहरु, राजनीतिक नेताहरु एवम् सरोकारवालाहरुसँग भेटघाट गरेको र अर्थतन्त्रबारे छलफल गरेको जानकारी पनि दिनुभयो । 

पत्रकार सम्मेलनका क्रममा उहाँले नेपालले धेरै ऋण लिनुअघि सावधान हुनुपर्ने जिकिर पनि गर्नुभयो । 

जापानमा कूल ग्राहस्थ उत्पादन (जीडीपी) र ऋणको अनुपात २६३ प्रतिशत रहेको उल्लेख गर्दै चालु खाता बचतमा रहेकाले जापानलाई ऋण लिन सहज भएको उहाँको भनाइ छ । तर नेपालको चालु खाता घाटामा रहेकाले ऋण लिनुअघि सावधानी अपनाउनुपर्ने उहाँको तर्क छ ।

पूर्वगभर्नर कुरोदाले भन्नुभयो, ‘‘जापानको चालु खाता ठूलो नाफामा छ । यस प्रकारको बचतले जापान सरकारलाई ऋण लिन सहज भएको छ । मेरो विचारमा थप ऋण लिनुअघि नेपाल सचेत हुनुपर्छ । ऋण नै लिनुपर्ने अवस्था भए पनि एसियाली विकास बैंक र विश्व बैंकजस्ता संस्थाबाट सहुलियतपूर्ण ऋण लिनुपर्छ ।’’

पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष विन्दुनाथ लोहनीले पूर्वगभर्नर कुरोदालाई नेपालमा स्वागत गर्न पाउँदा आफू खुशी भएको बताउनु भयो । 

उहाँले पूर्वगभर्नर कुरोदाले नेपाली अर्थतन्त्रलाई आशावादी दृष्टिकोणले हेरेको भन्दै यसबाट आफू प्रभावित भएको उल्लेख गर्नुभयो । राजनीतिक नेतृत्वको ध्यान आर्थिक वृद्धि तथा युवाहरुको विकास एवम् रोजगारीमा केन्द्रित हुनुपर्ने भन्दै उहाँले नेपालमा सूचना प्रविधिजस्ता क्षेत्रको ठूलो सम्भावना रहेको र निजीस्तरबाट लगानी गरेर यस क्षेत्रमा युवाहरुलाई परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।