• ८ माघ २०८१, मङ्गलबार

लागू औषध र विस्फाेटक पदार्थ नियन्त्रण गर्न सीमाक्षेत्रमा ‘डग स्क्यानिङ्’

blog

विराटनगर रानी क्षेत्रमा ‘डग स्क्यानिङ्’ गरिँदै । तस्बिर : नवराज कट्टेल

नवराज कट्टेल
विराटनगर, असोज १९ गते ।
चाडपर्व नजिकिँदै गर्दा विराटनगरको सीमा रानी आसपासका नाकाबाट नेपाल भित्रिनेको सङ्ख्या उल्लेख्य हुन्छ ।चाडपर्व मनाउन आउनेहरुको भीडमा लागू औषध तथा विस्फाेटक पदार्थ भित्र्याउने समेत उत्तिकै सक्रिय हुने गरेका विगतका तथ्यले देखाएको छ ।

कोशी प्रदेशको मुख्य नाका विराटनगर रानीबाट नेपाल भित्रिनसक्ने लागू औषध र विस्फाेटक पदार्थ नियन्त्रणका लागि प्रहरीले सीमाक्षेत्रमा ‘डग स्क्यान’ सुरु गरेको छ । यसवर्ष सोह्रश्राद्ध नसकिँदै चाडपर्व लक्षित सीमा चेकजाँचमा कडाइ र थप व्यवस्थित गरिएको हो ।

विराटनगरको रानीस्थित मुख्य प्रवेश गर्ने नाका, यससँग नजिक रहेका सहायक नाका र गौंडामा समेत प्रहरीले तालिम प्राप्त कुकुरमार्फत चेकजाँच थालेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले लागू औषध र विस्फाेटक पदार्थ ओसारपसार हुनसक्ने सम्भावनालाई आङ्कलन गर्दै ‘के नाइन’ प्रहरी कार्यालय धरानको सहयोगमा अभियान सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले चाडपर्वमा लागू औषध र पटकालगायतका विस्फाेटक पदार्थ भित्रिनसक्ने सम्भावना उच्च रहेको विगतका वर्षको तथ्यले देखाएको हुनाले यस वर्ष कुकुरसहितको टोली परिचालन गरिएको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्दीप बेल्वासले रानी क्षेत्रमा दुईवटा तालिम प्राप्त कुकुरसहित मुख्य नाका र सहायक नाका समेतमा चेकजाँच भइरहेको जानकारी दिनुभयो ।

सीमापार भारतको जोगबनीबाट लागूऔषध प्रयोगकर्ता, ओसारपसार गर्ने भरिया र कारोबारी समेत दशैँमा घर फर्केका नेपालीहरुको साथमा नेपाल प्रवेश गर्ने गरेको बुझाइ प्रहरीको छ । रोजगारी तथा अध्ययनका लागि भारत गएकाहरु घर फर्कने क्रममा घुसपैठ भएर आउनेहरुबाट लागूऔषध र पटाकालगायत विस्फाेटक पदार्थ भित्रिने जोखिम देखिएपछि ‘डग स्क्यान’ गर्न जरुरी रहेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय रानीले ‘के नाइन’ प्रहरी कार्यालयसँगको सहकार्यमा रानीनाका, दरहिया, मटियारुवा, इस्लामपुर र हुलाकचौक केन्द्रित गरेर डग स्क्यान गराउने प्रहरी निरीक्षक बेल्वासेले जानकारी दिनुभयो ।