• १७ जेठ २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्डसँग भाषा आयोगका पदाधिकारीको भेट

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १८ गते  । भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न भएको छलफलमा उहाँहरूले सरकारी कामकाजको भाषासम्बन्धी भएका सिफारिसमा केही संशोधन गर्नुपर्ने विषय सिफारिस पेस गर्नुभएको छ । 

त्यसैगरी भेटवार्तामा आयोगभित्र रहेका व्यवस्थापनका आन्तरिक समस्या र तिनका समाधानबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै आज नेपाल ट्रष्टका पदाधिकारीहरूले पनि ट्रष्टको नामका रहेको सम्पत्ति र तिनको उपयोगबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्नुभएको छ । छलफलका क्रममा ट्रष्टका सम्पत्तिको अभिलेख राख्ने र उपयोगका विधिबारे पनि छलफल भएको छ ।  

त्यसैगरी निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रबी सिंहसहित प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको छ । भुक्तानीसम्बन्धी आफूहरूको मागमा कुनै सुनुवाइ नभएको भन्दै उहाँहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीको मागप्रति आफ्नो ध्यानाकर्षण भएको र मागको उचित सम्बोधन हुने आश्वासन दिनुभयो ।