• १२ साउन २०८१, शनिबार

‘संसदमा रुलिङ भएको विषयमा सरकार गम्भीर हुनुपर्ने’

blog

फाइल तस्विर

काठमाडौँ, असोज १८ गते । सांसद महेशकुमार बर्तौलाले सभामुखले गरेको रुलिङप्रति सरकारले ध्यान नदिएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा उहाँले सरकारले संसदमा रुलिङ भएको विषय कार्यान्वयनमा ध्यान नदिएकोमा ध्यानाकर्षण गराउनुभयो ।

“कान्ति बाल अस्पतालको घटना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विषयमा रुलिङ भयो, तर सरकारले उक्त रुलिङ कार्यान्वयन गरेन”, उहाँले भन्नुभयो । उहाँले ती विषयमा विशेष निर्देशनको मागसमेत गर्नुभयो ।

सांसद शिशिर खनालले शिक्षाको गुणस्तर सुधार गर्नका लागि सबै खाले राजनीतिबाट विश्वविद्यालय मुक्त गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रेखा यादवले झ्यापझ्याप बिजुली गएर आम नागरिकलाई असर परेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उक्त विषयमा प्रष्ट पार्नुपर्ने माग गर्नुभयो ।

सांसद अस्माकुमारी चौधरीले बझाङका भूकम्प पीडितलाई उद्धार, राहत र पुनर्स्थापना ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रमा कोइरालाले सामाजिक सदभाव कायममा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । रासस