अर्जुन काफ्ले
स्याङ्जा, असोज १८ गते । भीरकोट नगरपालिकाले नगर क्षेत्रका दुई वटा सडकलाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ । दुई जिल्ला स्याङ्जा र दुई पालिका जोड्ने पर्वत तथा भीरकोट र बिरुवा जोड्ने सडकलाई नगरपालिकाले प्राथमिकतामा राखेको हो ।
सघन शहरी विकास कार्यक्रमअन्तर्गत बहुवर्षीय २० करोड बजेटबाट बयरघारी–मोहनडाँडा ठूलिभञ्ज्याङ हुँदै स्याङ्जा र पर्वत जिल्ला जोडिने सडक तथा बयरघारी–बानेथोक हुँदै बिरुवा पालिका जोडिने सडकलाई प्राथमिकतामा राखेको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले आर्थिक वर्ष २०७९/०८० मा अन्तर जिल्ला र पालिका जोड्ने दुई सडकमा टेण्डर खोलेर तीन करोडको लागतमा डेढ किलोमिटर पक्की तथा ढलान भएको बताउनुभयो । चालु आर्थिक बर्षमा बाँकी सडकको सात किलोमिटर पक्की तथा ढलान गर्ने लक्ष्य लिएको कर्माचार्यले बताउनुभयो ।
पहिलो चरणमा दुबै सडकलाई चार करोड बजेट सघन शहरी विकास कार्यक्रमअन्तर्गत विनियोजन भएको कर्माचार्यले बताउनुभयो ।
यस्तै स्याङ्जा–पर्वतको २३ किमी र र भीरकोट–बिरुवा सडकको १३ किमीलाई आन्तरिक स्रोतबाट छ करोड बजेट सुनिश्चित नगरपालिकाले गरेको छ ।
यस्तै, प्रदेश सरकारको समपुरक शीर्षकबाट स्याङ्जा–पर्वतलाई ८० लाख र दार्सिङ्–बिरुवा सडकलाई ८० लाख विनियोजन भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले नगरपालिकाको बजार क्षेत्रका नौ किमी सडकहरु कालोपत्रे गरेको र अब अन्तर जिल्ला र पालिका जोड्ने सडकलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।
दुबै सड मार्फत विशेष गरी कृषि तथा पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा गरेको ढुङ्गानाले सुनाउनुभयो ।नगरको मुकाम भूभागका सबै सडकहरु लागत साझेदारीमा सरकारको ७० र नागरिकको ३० प्रतिशत लगानीमा नगरपालिकाले कालोपत्रे गरेको हो ।
नगरपालिकाले प्रत्येक वडामा निर्वाध रुपमा बाह्रै महिना सवारी साधन सञ्चालनको पूर्वाधार तयार गरेको छ ।