• १३ साउन २०८१, आइतबार

डाक्टर बन्न अब सिप परीक्षा पनि

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, असोज १८ गते । नेपाल मेडिकल काउन्सिलले डाक्टर (चिकित्सक) बन्नका लागि लिखित, मौखिकका साथै प्रयोगात्मक (सिप) परीक्षा पनि उत्तीर्ण हुनुपर्ने व्यवस्था लागु गर्ने भएको छ । काउन्सिलले लिने क्षमतामा आधारित सिप परीक्षणसहितको लाइसेन्स (प्रमाणपत्र) परीक्षाका लागि बुधबार धुलिखेल अस्पतालको सिमुलेसन प्रयोगशालामा नमुना सिप परीक्षण प्रारम्भिक कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. शिवजी पौडेलले काउन्सिलले पाठ्यक्रममा रहेको व्यवस्थालाई कार्यान्वयन गर्न मध्यस्थकर्ताका रूपमा काम गर्न लागेको बताउनुभयो । “ज्ञान र सिपलाई एकै ठाउँमा मिलाएर हाम्रा उत्पादनलाई राम्रो बनाउन सकिन्छ, जसले गर्दा डाक्टर ज्ञानका साथै सिपयुक्त बन्नुहुन्छ र कार्य क्षेत्रमा काम गर्न पठाउँदा उहाँहरूले थप गुणस्तरीय सेवा दिन सक्नुहुने छ,” डा. पौडेलले भन्नुभयो । 

उहाँले कतिपय विश्वविद्यालयले बनाएका पाठ्यव्रmम अर्को संस्थाले नमान्ने परिपाटीले गर्दा परीक्षा दिने विद्यार्थी र परीक्षा गराउने काउन्सिलमा अन्योल हुने गरेको बताउनुभयो । 

कार्यव्रmममा काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले नेपाल मेडिकल काउन्सिल ऐन र नियमावली २०२४ मा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने काम सुरु गर्न लागेको बताउनुभयो । 

“नियमावलीमा लाइसेन्स लिनुअघि परीक्षा दिनु पर्छ, परीक्षा लिखित, मौखिक र प्रयोगात्मक हुन्छ, त्योमध्ये काउन्सिलले कुनै एउटा लिन सक्ने छ भन्ने व्यवस्था रहेको छ, अर्को काउन्सिलले कुन प्रकारको परीक्षा लिने भन्ने तोक्न सक्ने छ अहिलेसम्म लिखित रूपमा ज्ञानको टेस्ट ग-याँै, अब उहाँहरूले ज्ञानसँगै सिप आर्जन गर्नु भयो कि भएन भनेर त्यसको परीक्षण गर्ने व्यवस्था गर्न लागेका हौँ,” रजिस्ट्रार अधिकारीले भन्नुभयो । उहाँले सिप परीक्षणमार्फत जुन कुरा साँच्चै सिक्नुपर्ने भनेको थियो त्यसलाई विद्यार्थीले इन्टर्नसिपमा सिकेकै बेलामा जाँच लिन खोजेको हो, जसले बिरामीमा यो डाक्टरसँग उपचारका ज्ञान र सिप दुवै रहेछ भन्ने विश्वास हुने छ भने डाक्टररूलाई उक्त कुराले झन् जिम्मेवार बन्न प्रेरित गर्ने बताउनुभयो । 

“एमबिबिएसको इन्टर्नसिप गर्दा ६० वटा सिप जान्नुपर्ने भए पनि काउन्सिलले २५ वटा सिपको परीक्षा लिन खोजेको हो, इन्टर्नसिप गर्दा एउटा विद्यार्थीले अस्पतालको प्रयोगशालामा सिप सिक्ने र इन्टर्नसिप गर्दा विद्यार्थीले सिकेको सिपको आधारमा सिपको परीक्षा गरी प्रमाणपत्र दिइन्छ, सिप परीक्षा उत्तीर्ण गरेपछि मात्रै उसले काउन्सिलको फाराम भर्न पाउँछ, नत्र पाउँदैन,” रजिस्ट्रार डा. अधिकारीले थप्नुभयो । 

उहाँले विद्यार्थीको सिप परीक्षणका लागि काउन्सिलले विश्व स्वास्थ्य सङ्गठनलगायतका संस्थाको सहयोगमा मेडिकल कलेजमा निःशुल्क सिप परीक्षण प्रयोगशाला निर्माण गर्ने र काउन्सिलले आगामी एक वर्षभित्र सिप परीक्षण व्यवस्थालाई लागु गरिने बताउनुभयो । 

सिप परीक्षण प्रारम्भिक कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा. मोहम्मद खुर्सिद आलम हैदर, इम्प्याक्ट एन्ड हेल्थकेयर सिमुलेसनका निर्देशक डा. रश्मि आरध्या, काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन प्राडा मनोज हुमागाईं, पूर्वडिन प्राडा राजेन्द्र कोँजु, नेपाल मेडिकल काउन्सिलका शिक्षा समितिका डा. सन्ध्या चापागाईंलगायतले सिप परीक्षणले कार्य क्षेत्रमा पार्ने प्रभावबारे धारणा राख्नुभएको थियो । 

नमुना सिप परीक्षण प्रारम्भिक कार्यक्रममा ३० जना विद्यार्थीलाई समूहमा विभाजन गरी पहिलो चरणमा २५ वटा नमुना सिप परीक्षण गरिएको काउन्सिलले जनाएको छ ।