• ३ असार २०८१, सोमबार

टिङ्करमा टेलिकमको सेवा

blog

काठमाडौँ, असोज १८ गते । नेपाल टेलिकमले नेपालको उत्तरपश्चिमको अन्तिम बस्ती टिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले मङ्गलबारदेखि सेवा सञ्चालनमा ल्याएको हो । मोबाइल सेवा सञ्चालनमा आएपछि सो क्षेत्रका जनताले सहज रूपमा आफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन् । 

चीनको सिमानासँग जोडिएको दार्चुलाको व्यास गाउँपालिका–१ मा अवस्थित उत्तरपश्चिमी नाका टिङ्करमा नेपाल टेलिकमले भिस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिङ्कर पु¥याएको थियो । 

पहिले सो क्षेत्रमा भिस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए । अब भने टिङ्कर क्षेत्रमा रहेका करिब पाँच सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन् । यसबाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकसमेत यसबाट लाभान्वित हुने छन् । 

करिब तीन हजार सात सय मिटरको उचाइमा अवस्थित टिङ्कर भारतसहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलङ्गाबाट करिब ८० किलोमिटर दुरीमा अवस्थित छ । त्यहाँबाट करिब आठ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिल्लर पुग्न सकिन्छ ।