दोलखा समाचारदाता
दोलखा, असोज १८ गते । दोलखाको बिगु गाउँपालिकाबाट बरामद भएको ११ केजी पहेँलो धातु सुन भएको पुष्टि भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको पहेँलो धातु काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घ क्षेत्रपाटीमा परीक्षण गर्दा सुन भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ ।
बरामद भएको सो सुनको बजार मूल्य १० करोड १९ लाख ५७ हजार ७८० रुपियाँ बराबरको रहेको मूल्याङ्कन गरिएको छ । प्रहरीले असोज १० गते राति वडा नं. ३ जामुनेको एउटा घरबाट चार केजी, असोज १२ गते तीन केजी र असोज १४ गते चार केजी सुन बरामद गरेको थियो । पक्राउ पर्नेमा तासी भनिने चिनियाँ नागरिक ग्याङ रोउ, बिगुका राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बुछिरिङ शेर्पा, सुनमाला तामाङ, सनथ प्रधान, लालबहादुर तामाङ र च्याङ्बा भन्ने चसमान तामाङ रहेका छन् ।
चीनबाट अवैध रूपमा ल्याएको सुन लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो । अन्य व्यक्ति फेला परेका छैनन् । कार्यालयका सूचना अधिकारी धर्मेश यादवले भन्नुभयो, “अहिलेसम्मको अनुसन्धानबाट पक्राउ परेकामध्ये केही लगानीकर्ता र केही भरिया भएको खुलेको छ ।”