काठमाडौँ, असोज १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउनुहुने भएको छ । गत भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिका भ्रमणमा जानुभएको बेला महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिनुभएको हो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले मङ्गलबार नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसले नेपाल भ्रमण गर्न लाग्नुभएको जानकारी दिनुभएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताउनुभयो । “प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिनुभएको जानकारी दिनुभयो । उहाँले असोज २६ गते नेपाल आउने गरी निम्तो दिनुभएको छ,” पौडेलले भन्नुभयो, “नेपालको शान्ति प्रव्रिmयालगायत अन्य विविध विषयमा महत्वपूर्ण छलफल हुने छ ।”
असोज २६ गतेदेखि तीन दिन महासचिव गुटर्रेस नेपालमा रहनुहुने बताइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।