• १५ मंसिर २०८१, शनिबार

रेडपान्डा जोगाउन कुकुरलाई खोप

blog

पाथीभरा याङ्वरक गाउँपालिका –३ तिरिङ्गेमा कुकुरलाई रेविजविरुद्धको खोप लगाइँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १७ गते । ताप्लेजुङमा साढे चारसय कुकुर र बिरालोलाई रोविजविरुद्धको खोप र भिटामिन खुवाइएको छ । दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) को संरक्षण गर्न कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप लगाइएको हो । 

रेबिजविरुद्धको खोपसँगै कुकुर र बिरालोलाई भिटामिन पनि खुवाइएको छ । रेडपान्डा संरक्षणको कार्यमा क्रियाशील हिमाली संरक्षण मञ्च नामक संस्थाले विगतदेखि प्रत्येक वर्ष कुकुरको बन्ध्याकरण गर्ने, रेबिजविरुद्धको खोप लगाउने र भिटामिन खुवाउँदैआएको छ । सोही अभियानलाई निरन्तरता दिँदै यसवर्ष पनि घरपालुवा तथा सामुदायिक कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप र भिटामिन दिएको हो । 

हिमाली संरक्षण मञ्च ताप्लेजुङका कार्यक्रम संयोजक रमेश राईका अनुसार यसवर्ष ४१४ वटा कुकुर र ३७ वटा बिरालोलाई रेबिजविरुद्ध खोप लगाइएको छ । कुकुर र बिरालोको सोही सङ्ख्यालाई भिटामिन खुवाइएको राईले जानकारी दिनुभयो । उहाँका अनुसार रेडपान्डा पाइने र वासस्थान क्षेत्रनजिक बस्तीमा रहेका कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप तथा भिटामिन उपलब्ध गराइएको छ ।

रेडपान्डा पाइने क्षेत्र र वासस्थान नजिकका गाउँ पाथीभरा याङ्वरक गाउँपालिका –२ थेचम्बु, वडा ३ तिरिङ्गे, सिरिजङ्घा गाउँपालिका –३ सिकैँचा गाउँमा रहेका कुकुर र बिरालोलाई रेबिज खोप र भिटामिन दिइएको छ । यस्तै, फुङ्लिङ नगरपालिका –९ हाङ्देवाको बुङ्कुलुङ टोल, वडा १० फुरुम्बु तथा वडा ११ फावाखोलामा रहेका कुकुर बिरालोलाई खोप र भिटामिन दिएको मञ्चले जनाएको छ ।

रेबिजविरुद्ध खोप र भिटामिन दिएमा कुकुर बिरालो मोटाउने र मोटाएका कुकुर बिरालोले वन्यजन्तुलाई आक्रमण वा सिकार गर्नलाई अल्छी हुने हुँदा रेडपान्डा संरक्षणमा सहयोग पुग्ने मञ्चले जनाएको छ । 

मञ्चका अनुसार गत भदौ अन्तिम साता सम्बन्धित स्थानीय तहअन्तर्गत पशु शाखा, रेडपान्डा नेटवर्क समेतले संयुक्त अभियान चलाई कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप लगाउनुका साथै भिटामिन खुवाइएको छ । हिमाली संरक्षण मञ्चका अनुसार ताप्लेजुङमा करिब डेढसयको सङ्ख्यामा रेडपान्डा छन् ।