• १५ मंसिर २०८१, शनिबार

दुर्गन्ध भेटिएपछि पाउरोटी उत्पादनमा रोक

blog

नगरपालिकाले जफत गरेको पाउरोटी लगायतका बिस्कुट दमक २ मा रहेको फोहोर प्रशोधन केन्द्रमा नष्ट गरिदै ।

विष्णुप्रसाद पोखरेल

दमक, असोज १७ गते । झापाको दमक नगरपालिकाले बजार अनुगमनको क्रममा अनुगमन गर्दा मापदण्ड पूरा नगरी र फोहोरमैलायुक्त रूपमा पाउरोटीलगायतका विभिन्न बिस्कुटहरू उत्पादन गर्दैआएको न्यूहिमालय पाउरोटी उद्योगको उत्पादनमा रोक लगाएको छ । 

मापदण्ड पूरा गरेर मात्र उत्पादन गर्नेगरी रोक लगाइएको नगरपालिकाले जनाएको छ । उद्योगमा सरसफाइको कमी, असुरक्षित तवरले खाद्य वस्तु उत्पादन र भण्डारण गर्नेगरेको पाइएकाले उत्पादनमा रोक लगाइएको दमक नगरपालिका उपप्रमुख एवम् दमक बजार अनुगमन समिति संयोजक रेगिना भट्टराईले जानकारी दिनुभयो । 

खानेकुरा उत्पादनमा स्वच्छता र शुद्धतामा ध्यान दिनुपर्छ उहाँले भन्नुभयो । एक हप्ताभित्र उद्योग (उत्पादन स्थल) सरसफाइ, खाद्य सामग्री उत्पादन र भण्डारणको उचित व्यवस्थापन गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । बिस्कुट बनाउन प्रयोग गरिने सामाग्रीदेखि लिएर त्यहाँ उत्पादन भएको बिस्कुटहरू सबै फोहोर र खान अयोग्य भेटिएको बत्ताइएको छ । 

अनुगमनको क्रममा भेटिएको उत्पादित सबै बिस्कुटहरू नियन्त्रणमा लिएर नगरपालिकाले नष्ट गरेको छ । पुनः उत्पादन सुरु गर्दा नगरपालिका कार्यालयलाई निरीक्षण गराई इजाजत दिएपछि मात्र उत्पादन कार्य सुरु गर्न निर्देशन दिइएको समेत उपप्रमुख भट्टराईले बताउनुभयो । 

उत्पादनस्थल धेरै फोहोर र दुर्गन्धित रहेको पाइएको अनुगमन समितिका एक सदस्यले बताउनुभयो । उद्योग त भन्नुमात्रको रहेछ, उहाँले भन्नुभयो । बजार अनुगमन समितिको टोलीले विभिन्न बेकरी र होटलहरुमा पनि अनुगमन गर्दै आएको छ । इलाका प्रशासन कार्यालय दमकका प्रमुख महेश्वर तिम्सिना, दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्कीलगायतका सरोकारवाला निकायका प्रतिनिधि तथा प्रमुखको उपस्थितिमा अनुगमन भएको थियो ।