• १४ मंसिर २०८१, शुक्रबार

नागरिकमैत्री हेलिप्याड निर्माण

blog

जलजलाको भवानीपानीमा निर्मित हेलिप्याड ।

प्रनिश गिरी

कुश्मा (पर्वत), असोज १७ गते । पर्वतमै पहिलो पटक नागरिकमैत्री हेलिप्याडको निर्माण भएको छ । यहाँको जलजला गाउँपालिकास्थित वडा ४ को भवानीपानी भन्ने स्थानमा नेपाली सेनाको प्राविधिक सहयोगमा हेलिप्याड निर्माण गरिएको हो ।

जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित दुर्गम पालिकामध्ये पर्ने जलजलामा प्राकृतिक विपत्, बिमारी, दुर्घटनाका बेला नागरिकलाई हवाई साधनद्वारा सेवा प्रदान गर्न हेलिप्याड निर्माण गरिएको हो । हेलिप्याडको निर्माणका लागि जनशक्ति र प्रविधिको सहयोग नेपाली सेनाको श्री रणभीम गुल्म पर्वतले गरेको थियो । 

ऐतिहासिक, धार्मिक तथा पौराणिक दृष्टिले महत्त्व राख्ने कालाञ्जर पर्वत जलजलामा पर्छ । जलजला क्षेत्रको पर्यटन प्रवर्धनका लागि समेत हेलिप्याडले सहयोग गर्ने विश्वास वडा ४ का अध्यक्ष भरतबहादुर क्षेत्रीको भनाइ छ । 

अध्यक्ष क्षेत्रीकै विशेष पहलमा हेलिप्याड निर्माणको काम अघि बढेको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्य हेलिप्याडबारे भन्नुभयो, ‘म पनि एक महिना पहिले जलजलाको इनारकुवामा खसेको पहिरो निरीक्षणमा जाँदा बन्दैगरेको हेलिप्याड देखेको थिएँ । हेलिप्याड सबैलाई पायक पर्ने स्थानमा पर्छ ।’ 

दुर्घटनामा परेका र बिरामीको आकस्मिक उद्धारका लागि हेलिप्याड महत्त्वपूर्ण छ । यसले स्थानीयलाई राम्रो सुविधा हुन्छ । जलजलामा निर्माणाधीन १० शय्याको पालिकास्तरीय अस्पतालबाट केही नजिकै रहेको हेलिप्याडबाट इमर्जेन्सी रिफर गरिने बिरामीलाई हवाई सेवामार्फत थप उपचारका लागि पोखरा र काठमाडौँ लैजान सकिने हुँदा स्थानीयवासी खुसी छन् । 

स्थानीयवासीको अनुसार हेलिप्याडले उनीहरूको हवाइसेवामार्फत् जीवन रक्षाको काम गर्ने विश्वास गरिएको छ । पालिकाका १ देखि ५ वडामा बसोबास गर्ने करिब ७ हजार सर्वसाधारणलाई हेलिप्याडले भैपरी आउँदा प्रत्यक्ष लाभ दिनेछ । पालिकाको माथिल्लो भेगसम्म पुग्न कच्ची साँगुरो बाटो मात्र छ । 

दुर्गम क्षेत्रमा अचानक दुर्घटना र प्राकृतिक विपतमा पर्ने व्यक्तिको थप उपचार गर्न घण्टौँ समय लाग्नेमा हवाइसेवाले केही मिनेटमा गन्तव्यमा पुगाउने छ । पालिकाले पायक पर्ने स्थान हेरेर उपलब्ध गराएको सार्वजनिक जग्गामा हेलिप्याड निर्माणका लागि करिब ३ लाख खर्च गरेको वडा अध्यक्ष क्षेत्रीको भनाइ छ । 

एक आर्थिक वर्ष, एक युनिट जोडी हेलिप्याड निर्माण योजना अन्तर्गत नागरिक र सैनिक सम्बन्धलाई प्रगाढ बनाउन हेलिप्याड निर्माण गरिएको बाहिनी अड्डा बाग्लुङका बाहिनीपति रोशन खड्काले बताउनुभयो । बाहिनीपति खड्का र रणभीम गुल्मका गुल्मपति सेनानी राजन पाण्डेले संयुक्त रूपमा अध्यक्ष क्षेत्रीलाई निर्माण सम्पन्न हेलिप्याडको हस्तान्तरण गर्नुभयो ।