• १३ मंसिर २०८१, बिहिबार

पशु संरक्षणमा चुनौती

blog

दोधारा चाँदनी (कञ्चनपुर), असोज १७ गते ।  जनावरहरूको संरक्षण गर्नाका साथै महत्वका बारेमा जागरूक गराउन हरेक वर्ष अक्टोबर ४ मा विश्व पशु दिवस मनाइन्छ । पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलन बनाउन पनि जनावरको  योगदान  महत्त्वपूर्ण रहन्छ । पूर्वीय सभ्यतामा जनावरलाई अझ विशेष महत्त्व दिएको पाइन्छ । हिन्दु धर्मावलम्बीमा पशुलाई देवताको प्रतीकका रूपमा पूजा गर्ने संस्कार रहेको छ । 

विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनका रूपमा पुज्ने प्रचलन छ । तिहारमा विशेषगरी पशुको महत्त्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने प्रचलन छ । अझ हिन्दु धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पुण्य दिने दानसँग तुलना गरिन्छ । 

पछिल्लो समय पूजा गरिने गाईको संरक्षण भने हुन सकेको छैन । राष्ट्रिय जनावरका रूपमा रहेको गाई लगायतका जनावर प्रतिको मानवीय व्यवहार भने क्रूर हुन थालेको छ । गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएको पशु संरक्षणकर्मी बताउँछन् ।

पाँच वर्षदेखि छाडा पशुको उपचारमा खटिएका पशु संरक्षणकर्मी विष्णुप्रसाद पनेरुले पछिल्लो समय पशुप्रति मानव क्रूर हुन थालेको बताउनुभयो । “दूध दिने बेलासम्म गाई बाँध्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्तिले पशु संरक्षणमा चुनौती थपिएको छ”, उहाँले भन्नुभयो, “गाई त हाम्रो राष्ट्रिय जनावर पनि हो यसमा सरकारले पनि ध्यान दिनुपर्छ ।” उहाँले आफू पाँच वर्षदेखि निरन्तर रूपमा छाडा पशुको संरक्षण, घाइतेहरूको उपचारमा खटिएको बताउनुभयो । “पशुलाई धर्ममा पूजा गर्ने तर मनमा नमान्ने प्रवृत्तिले पशु संरक्षण हुन सकेका छैन”, उहाँले भन्नुभयो, “यहाँ पशु संरक्षणका लागि थुप्रै गौशाला निर्माण भएका छन्, त्यहाँ राम्रोसँग व्यवस्थापन गर्न सकेको छैन ।” उहाँले पशु संरक्षणका लागि सबैले सचेत हुनुपर्ने बताउनुभयो ।

त्यसैगरी छाडा पशुको स्याहारमा खटिएका यहाँका स्थानीय मदन चन्दले पछिल्लो समय पशुलाई मानवीय व्यवहार नभएको बताउनुभयो । “मानिसहरू स्वार्थी भए दूध दिए मात्रै पाल्ने नभए सडकमा छाड्ने जुन प्रवृत्ति छ यसले ठुलो समस्या सिर्जना गरेको छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय जनावर र तिहारमा पूजा गरिने गाईप्रति मानवीय व्यवहार भएको छैन ।” उहाँले सरकारले पनि पशु व्यवस्थापनमा ध्यान दिन नसकेको बताउनुभयो । सडकमा पशुलाई छाडा छाड्दा सवारी दुर्घटनाको जोखिम बढेको छ भने सडक कुरूपसमेत हुने गरेको छ । जनावरहरूको संरक्षणका लागि सबै पक्षले सचेत भए मात्रै पशु संरक्षण गर्न सकिने संरक्षणकर्मीहरू बताउँछन् । रासस