ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, असोज १७ गते । ताप्लेजुङमा राष्ट्रिय परिचयपत्र धमाधम वितरण भइरहेको छ । नाम दर्ता भएको करिब तीन वर्षपछि यहाँ राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको हो ।जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार २०७७ साउन १३ देखि राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता सुरु गरिएको थियो । राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गरिएको तीन वर्षपछि भर्खरैदेखि परिचयपत्र वितरण गर्न सुरु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नाम दर्ता भएकामध्ये पहिलो पटक एक हजार पाँच सय जनाको परिचयपत्र आएकाले वितरण थालिएको राष्ट्रिय परिचयपत्र वितरण दर्ता कर्मचारी (अपरेटर) वसन्त निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिलाई हाल धमाधम वितरण गरिँदै आएको छ ।
राष्ट्रिय परिचयपत्र विवरण दर्ता सहयोगी टीका बराल सिग्देलले गत भदौ २७ देखि परिचयपत्र वितरण सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबारसम्ममा ३१ जनाले राष्ट्रिय परिचयपत्र बुझिसकेका छन् । परिचयपत्र आएका व्यक्तिको मोबाइल नम्बरमा सूचना जाने र सोही सूचनाका आधारमा प्रशासन कार्यालयमा सम्पर्क गर्ने व्यक्तिलाई राष्ट्रिय परिचयपत्र वितरण हुँदै आएको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्र प्राप्त भएकालाई धमाधम वितरण भइरहेको छ भने परिचयपत्रका लागि नाम दर्ताको कार्य पनि जारी छ । यता राष्ट्रिय परिचयपत्रका लागि नाम सङ्कलन सुरु भएयता मङ्गलबारसम्ममा ३० हजार ८७३ जना महिला र ३४ हजार ३६५ पुरुष गरी कुल ६५ हजार २३८ जनाको नाम दर्ता भएको छ ।
हालसम्म दर्ता भएको सङ्ख्यामध्ये यसअघि गाउँ गाउँमा सञ्चालित अभियानमार्फत ४६ हजार २०५ र जिल्ला प्रशासन कार्यालयमार्फत १९ हजार ३३ जनाको नाम दर्ता भएको पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता शाखाले जनाएको छ । यता राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्य पहिलो पटक भएकाले परिचयपत्र बनेर आउन लामो समय लागेको हुन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले बताउनुभयो । आगामी दिनमा भने छोटो अवधिमै परिचयपत्र आउन सक्ने उहाँको भनाइ छ ।