• १२ साउन २०८१, शनिबार

गाउँ झिलिमिली बनाउने काम तीव्र गतिमा हुँदै छ’

blog

डडेलधुराको मणिलेक गाउँका ४८ वर्षीय लक्ष्मीप्रसाद अवस्थी गाउँघरमा पढलेख गरेको युवाका रूपमा परिचित हुनुहुन्छ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट विद्यार्थी राजनीति सुरु गरेका अवस्थी नेपाल तरुण दल हुँदै कांग्रेस पार्टीको जिल्ला कार्यसमिति सदस्य, सचिव र हाल उपसभापति हुनुहुन्छ । स्थानीय तहको निर्वाचनबाट नवदुर्गा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका अवस्थी गाउँका आशालाग्दा युवानेता हुनुहुन्छ । प्रस्तुत छ, अध्यक्ष अवस्थीसँग गोरखापत्रका अमरगढी समाचारदाता पुष्कर भण्डारीले गरेको सङ्क्षिप्त कुराकानी :

 तपाईं निर्वाचित भइसकेपछि के के काम गर्नुभयो ?

यस गाउँपालिकाको अध्यक्षको जिम्मेवारी लिएलगत्तै वडा नम्बर १ देखि ५ सम्मका जनताका घरदैलोमा सहज रूपमा सामाजिक सुरक्षा भत्ता पु¥याउने निर्णय गरेको थिएँ । निर्वाचनअघि बैङ्कबाट भत्ता वितरण गर्ने नीति कार्यान्वयनमा आएको थियो । त्यसको विकल्पका रूपमा घरमै पुगेर भत्ता वितरण हुने छ । बैङ्कसँग हाम्रो लडाइँ भने जारी छ । बैङ्कसँग समेत अब वडास्तरमा पुगेर भत्ता वितरण गर्ने कुरा अघि बढेको छ । हाम्रो पालिकामा दुर्गम ग्रामीण बस्तीहरू छन् । भत्ता लिन बैङ्क जाँदा सेवाग्राहीको मृत्यु भएका खबर सुन्नमा आएका छन् । एम्बुलेन्स सेवा बिरामीको अवस्था हेरेर निःशुल्क गरेका छौँ । 

पालिकाको वडा नम्बर ३, ४ र ५ का विभिन्न बस्तीमा बिजुलीको पहुँच बढाउने काम भइरहेको छ । हाल आधा दर्जन बस्तीमा बिजुली बलेको छ । गाउँ झिलिमिली पार्न विद्युतीकरणको काम तीव्र गतिमा भइरहेको छ । रडुवा खोलाको डाँडावनमा वर्षौंदेखि अलपत्र अवस्थामा रहेको मोटरेबल पुल निर्माण भएको छ । डाँडावनमा १५ शय्याको अस्पताल निर्माणको काम अघि बढेको छ । गत वर्ष बजेट नपरेको कुनै विद्यालय थिएन । विद्यालयमा भौतिक (भवन, शौचालय, घेरबार) निर्माण भएका छन् । 

स्वास्थ्य र शिक्षा क्षेत्रमा तपाईंका के कस्ता योजना छन् ? 

पाँचवटै वडामा आँखाको शल्यक्रिया नै हुने गरी शिविर सञ्चालन गरेका थियौँ । आँखा उपचार केन्द्रको पनि स्थापना गरेका छौँ । वडा नम्बर १ को असुर्पामा एक करोड रुपियाँ बराबरको लागतमा स्वास्थ्य भवन निर्माण गरिएको छ । विद्यालयमा शैक्षिक सुधारका लागि कक्षा ५ र ८ मा गाउँपालिकास्तरीय बोर्ड परीक्षा सञ्चालन गरेर शिक्षाको गुणस्तर मापन गरेका छौँ । शिक्षाको गुणस्तरलाई पहिलो नम्बरमा राखेर पालिकामा रहेका २८ वटा विद्यालयलाई जिल्लाकै नमुना कसरी बनाउने भन्ने सवालमा प्रधानाध्यापक र अभिभावकसँग बेला बेलामा छलफल गरेका छौँ । 

नवदुर्गा गाउँपालिका त प्रमुख प्रशासकीय अधिकृतविहीन भएको भन्ने गुनासो छ नि ? 

कार्यालय सञ्चालन गर्न महत्वपूर्ण रूपमा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल अनिवार्य हुन्छन् । हामीसँग ती दुवै कर्मचारी छैनन् तर पनि हामीले काम सञ्चालन गरेकै छौँ । अख्तियारी दिइसकेपछि निमित्त नै कार्यालय प्रमुख हो । यसरी नै काम अगाडि बढाइरहेका छौँ । हामीले कर्मचारी माग गर्दै आइरहेका छौँ तर मन्त्रालयले नै पठाउन सकेको छैन । 

नयाँ आर्थिक वर्षमा बजेटको आकार घटेर आएको छ  नवदुर्गामा त्यसको कस्तो प्रभाव पर्छ ?

अहिले आर्थिक मन्दीका कारण बजेट घटेको छ। विभिन्न शीर्षकमा आउने बजेट आएको छैन । पशु सेवा केन्द्रका सबै रकम काटिएको छ । लघुउद्यमतर्फको रकम काटिएको छ । प्रधानमन्त्री स्वरोजगारमा आउने पाँच करोड रकम पनि काटिएको छ । हामीले आशा गरेको राजस्व बाँडफाँटतर्फको रकमसमेत काटिएको छ । सडक, बाटो निर्माण, सञ्चालनलगायत ज्यालादारीमा राखिएका कर्मचारीहरूको तलब दिन नसक्ने अवस्था भएको छ । प्रत्यक्ष जनतामा जाने करिब ९/१० करोड रकम काटिएको छ । 

गत वर्ष र यस वर्षको बजेटमा के कस्तो अन्तर छ ?

गत वर्ष प्रत्येक वडालाई ४०/४० लाख रुपियाँका दरले बजेट विनियोजन गरेका थियौँ । यस वर्ष बजेट घटेको भए पनि ३०÷३० लाख रुपियाँका दरले वडामै बजेटको व्यवस्था गरेका छौँ । योजनाहरू वडाबाटै सञ्चालन गर्न भनेर वडाध्यक्षहरूको समन्वयमा वडामै बजेट विनियोजन गरेका हौँ । अध्यक्ष, उपाध्यक्षसँग करिब ४० लाख रुपियाँ बराबरको बजेट रहन जान्छ । यस वर्ष बजेटको आकार ३१ करोड रुपियाँ बराबरको थियो । त्यो पनि अब पाँच वटै वडामा योजना छनोट गरेर विनियोजन गर्ने चुनौती छ । आन्तरिक आम्दानी १० लाख रुपियाँ पनि पुग्दैन । त्यसैले करको दायरा बढाउन आवश्यक छ । 

यहाँको धार्मिक एवं पर्यटकीय क्षेत्रको विकासका लागि केही योजना छन् ?

धार्मिक पर्यटकीय क्षेत्र नवदुर्गा र मष्टामाण्डौलाई उच्च प्राथमिकतामा राखेर बजेट माग गरेका थियाँै । खेल मैदानका लागि पनि बजेट माग गरेका थियौँ । अपेक्षा गरे अनुसार माथिल्ला तहका दुई सरकारबाट बजेट पर्न सकेन । विभिन्न सडक, सिँचाइ, खानेपानी, तटबन्धका क्षेत्रमा पनि बजेट माग गरेका थियौँ । जति बजेट हामीले माग गरेका थियौँ, त्यसको पाँच प्रतिशत पनि पाउन सकेनौँ । भगवती आफ्नो वाहन सिंहमाथि आसीन भएको ४५ फिट अग्लो मूर्ति निर्माण गरिएको छ । डोटीको शिखर नगरपालिका र डडेलधुराको गन्यापधुरा गाउँपालिकासँग जोडिएको सेती नदी किनारको गहनान क्षेत्रको विकासका लागि छिमेकी पालिकासँग छलफल भएको छ । 

नवदुर्गाको तल्लो क्षेत्र उत्पादनका लागि राम्रो क्षेत्र हो । यसतर्फ के कस्ता योजना छन् ?

वडा नम्बर ५ को तल्लो क्षेत्र, ४ को सिरोज, गिल्लागाउँ, ३ को सकायल र २ को रडुवा क्षेत्रमा खोलाको पानीबाट सिँचाइ गर्न मिल्छ । यहाँ धान गहुँ, मकै, कोदोलगायतका अन्नबालीसँगै आँप, अम्बा, कटहर, लिचीलगायतका फलफूल र सबै खालका तरकारी खेतीको राम्रो फसल हुन्छ । तरकारी खेतीको बिउमा अनुदान दिने योजना, सिँचाइ, घेरबारका योजना अगाडि बढे्का छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण आलु सुपरजोन कार्यालय कार्यान्वयन एकाइ डडेलधुराको सहयोगमा घेरबार गरेर गत वर्ष आलु खेती गरिएको थियो । वडा नम्बर १ को असुर्पामा दुध सङ्कलन गर्न सहयोग गरेका थियाैँ। दैनिक करिब दुई सय लिटर दुध र तरकारी जिल्ला सदरमुकाम निर्यात भइरहेको छ । अग्लो भेग लेकतिर भैँसी र बाख्रा प्रवर्धनका योजना छन् । वडा नम्बर ४ को मम्मेगिल्लामा पनि बाख्रा प्रवर्धनको योजना छ । यहाँका बोका, खसी जिल्ला सदरमुकामसँगै काठमाडौँसम्म निर्यात हुने गरेका छन् ।