अमृतप्रसाद पौडेल
म्याग्दी, असोज १६ गते । सोमबारदेखि परेको अविरल वषाले गर्दा हिमाली जिल्ला म्याग्दीका ग्रामीण भेकहरू जोड्ने सडकहरू अवरुद्ध भएका छन् । पहिरो खसेर बेनी–जोमसोम, बेनी–दरवाङ सडक बन्द भएको छ । त्यस्तै ग्रामीण भेक जोड्ने सडकहरू पनि अवरुद्ध भएको छ ।
पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका, मालिका गाउँपालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत स्थित घुमाउने भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सोही सडक खण्डमो मालिका गाउँपालिका–६ को बाङ्गे पहिरोमा सडक अवरुद्ध भएको दरवाङका व्यवसायी अमृत सापकोटाले जानकारी दिनुभयो । हिजोदेखि लगातार पानी परेको छ बेनीदेखि दरवाङ आउने सडकका साथै दरवाङदेखि ताकम जाने सडक पनि अवरुद्ध भएको उहाँले बताउनुभयो ।
बेनी–जोमसोम–कोरला कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तरगतको रघुगङ्गा गाउँपालिका–२ बैँसरी, अन्नपूर्ण गाउँपालिका–२ नैनिबगर र वडा नं ३ को गुइँठेमा पनि सडक अवरुद्ध भएको सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।
लगातार वर्षा भइरहेकाले वर्षा नरोकिएसम्म पहिरो पन्छाएर सडक खुलाउन नसकिने अवस्था छ । भारतीय पर्यटकहरूको मुख्य रोजाइमा पर्ने मुक्तिनाथ मन्दिर जाने मुख्य मार्ग बेनी–जोमसोम सडकखण्डमा पहिराले अवरुद्ध हुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङका सर्वसाधारणका साथै पर्यटक र तीर्थयात्रीलाई सास्ती खेप्ने गरेका छन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार मुस्ताङ खण्डमा सडक सुचारु रहेको भए पनि म्याग्दी खण्डमा सडक अवरुद्ध हुँदा मुस्ताङको सोझो यातायात रोकिएको छ । वर्षाका कारणले गर्दा मौसम खराबीले हवाई उडान रोकिने र सडक मार्गपनि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय म्यागदीले पनि सूचना निकालेर बेनी–दरवाङ सडकको घुमाउनेभीर, बाङ्गे पहिरो एवम् बेनी जोमसोम सडक खण्डको बैसरी, कुलौटे, नैनिबगर र गुइँठेमा अवरोध भएको जनाएको छ ।