अमरराज नहर्की
तनहुँ, असोज १५ गते । तनहुँ जिल्ला अदालतले तनहुँको सदरमुकाम दमौलीमा सञ्चालनमा रहेका दुई मेडिकल सञ्चालकलाई एक/एक लाख रुपियाँ जरिवाना तोकेको छ । व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णुकुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरीलाई जारिवाना तोकेको हो ।
दुई जनाले नै अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ गरी सो जरिवाना रकम तिरेर रिहा भएको प्रहरीले जनाएको छ ।
तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य र दलबहादुर केसीको इजलासले पक्राउ परेका दुवै जनालाई जनही एक लाख रुपियाँ जरिवानाको फैसला सुनाएको थियो । धरौटी रकम बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका, स्वास्थ्य कार्यालय, दमौली अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायतको अनुगमन टोलीले सञ्चालकद्वय गरौजा र चौधरीलाई गत बिहीबार पक्राउ गरी उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको थियो ।
प्रजुन थापा मेडिकल हलले क्लिनिक दर्ता गरी फार्मेसीमा बिरामी जाँच गरेको र बिरामीलाई इन्जेक्सनमार्फत उपचार गराएको र मित्रता स्वास्थ्य क्लिनिकले डाक्टर नभएको र आफैँ औषधि सिफारिस गरेको, डेंगु सङ्क्रमित बिरामीलाई इन्जेक्सन, ट्याब्लेट र एन्टिव्योटिक्सको माध्यमबाट उपचार गराएको आरोपमा दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
यसैबीच दमौलीको अनसनचौतारी स्थित युआएल दमौली डाइगोनिष्ट प्रालि तालाबन्दी गरिएको छ । केही दिनयता डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नीजि क्लिनिक, ल्याब सेन्टरको अनुगमन क्रममा त्रुटि भेटिएपछि व्यास नगरपालिकाले तालाबन्दी गरिदिएको हो ।
दुई वर्षदेखि नविकरण नभएको, मूल्य सूची नराखेको र ग्राहकसँग के कति रकम लिएको हो एक हप्ताको रेर्कड माग्दा दिन नसकेपछि बन्द गरिएको नगरपालिकाले जनाएको छ । व्यास नगरपालिकाको सक्रियतामा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय तनहुँको संयुक्त टोलीले अनुगमन गर्दा त्रुटि भेटिएको थियो ।