काठमाडौं, असोज १६ गते । चालु आर्थिक वर्षको असोज १५ गतेसम्म सरकारले एक खर्र्ब ६८ अर्ब ९१ करोड रुपियाँ राजश्व सङ्कलन गरेको छ । मङ्गलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा अर्थ मन्त्रालयले वर्तमान अर्थतन्त्रको अवस्थाको विषयमा जानकारी दिँदै यस्तो बताएको हो ।
समिति बैठकमा बोल्नुहुँदै अर्थमन्त्रालयका सह–सचिव बाबुराम सुवेदीले वार्षिक लक्ष्य १४ खर्ब २२ अर्ब ५४ करोडको तुलनामा ११.८७ प्रतिशत राजश्व सङ्कलन भएको बताउनुभयो । उहाँले सरकारको चालु आर्थिक वर्षको चालु खर्च एक खर्ब ४२ अर्ब ६३ करोड, पुँजीगत खर्च १० अर्ब ८३ करोड र वित्तिय व्यवस्था ३७ अर्ब ४२ करोड रहेको जानकारी दिनुभयो ।
उहाँले चालु खर्च र पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ ४७.४ प्रतिशतले खर्च वृद्धि भएको बताउनुभयो । उहाँले सरकारले कुल खर्च एक खर्ब ९० अर्ब ८८ करोड रहेको बताउनुभयो ।
सह–सचिव सुवेदीले चालु आर्थिक वर्ष २०८०/०८१ को भाद्र महिनासम्म १० अर्ब ६३ करोड बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको बताउनुभयो । उहाँले आर्थिक वर्षको भाद्रसम्म उद्योगबाट १४ अर्ब ६५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको पनि बताउनुभयो । उहाँले २०८० भाद्र मसान्तसम्म उद्योग विभागबाट चार खर्ब ६४ अर्ब ६२ करोड बराबरको वैदेशिक लगानी स्वीकृत भएको उल्लेख गर्नुभयो ।
उहाँले लगानी बोर्डबाट ४२ परियोजनाको लागि १२ खर्ब ५० अर्ब बराबरको लगानी स्वीकृत भएको पनि सांसदहरुलाई जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षको साउन महिनामा २ अर्ब ६५ करोड बराबरको वैदेशिक लगानी भित्रिएको उल्लेख गर्नुभयो । उहाँले गत आर्थिक वर्षको साउन महिनामा यस्तो लगानी ४१ करोड मात्रै रहेको बताउनुभयो । उहाँले सन् २०२३ को अगष्टसम्म आठ महिनाको अवधिमा नेपाल भित्रिने पर्यटकको सङ्ख्या सन् २०२२ को साही अवधिको तुलनामा ८४ प्रतिशतले वृद्धि भई छ लाख एक हजार ३६० पुगेको बताउनुभयो ।
सह–सचिव सुवेदीले पुँजीबजार र बैंकको ब्याजदरलाई प्रतिस्पर्धामा नै छाड्ने अर्थमन्त्रालयको नीति रहेको बताउनुभयो । उहाँले अर्थमन्त्रालय लिएको नीतिबाट बाहिर जाने काम नगरेको बताउनुभयो । उहाँले व्यापार चक्र अनुसार यी विषयहरु तलमाथि हुने भन्दै व्यापार चक्रलाई मूल्यवृद्धिले असर गर्ने बताउनुभयो । उहाँले सरकारको दायित्व वित्तीय प्रणाली असन्तुलित भएर घरासायी हुनबाट जोगाउनुपर्ने भएकाले सन्तुलित नीतिको रुपमा लिएको जानकारी दिनुभयो । उहाँले पुँजीबजारमा बाहिर भनेको जस्तो ठूलो समस्या नभएको जिकिर गर्नुभयो ।
त्यस्तै, समिति बैठकमा बोल्दै अर्थमन्त्रालयका राजश्व सचिव डा.रामप्रसाद घिमिरेले सरकारको राजश्व सङ्कलन उत्साहजनक रुपमा नभएको बताउनुभयो । उहाँले सरकारले यो वर्ष जसरी नीतिगत सुधार गर्न खोजेको नीतिहरु कार्यान्वयन भएर परिणाम आउन समय लाग्ने बताउनुभयो । उहाँले अहिले भइरहेको राजश्व नीति अनुसार राजश्व सङ्कलन भए सरकार अप्ठ्यारोमा पर्ने जानकारी दिनुभयो । उहाँले समयमा नै सोच्नुपर्ने भएकाले सरकारले बजेट मार्फ ल्याएका आर्थिक ऐनमा सुधारका कुराहरु ल्याएको बताउनुभयो । उहाँले सरकारको राजश्वको सङ्कलनको मुख्य स्रोत पेट्रोलिय पदार्थबाट चल्ने सवारी साधन र दुरसञ्चार शुल्क क्रमश घट्दै गएकाले बढाउन सक्ने अवस्था नभएको बताउनुयो । उहाँले सरकार राजश्व उठाउने भन्दा पनि सहुलियत दिने कुरामा लागेको बताउनुभयो ।
राजश्व सचिव डा. घिमिरेले उहाँले मुलुकको अर्थतन्त्रका समस्या पहिचान नगरी समस्या समाधान नहुने भन्दै सरकारले समस्याको पहिचान गर्न खोजि रहेको बताउनुभयो । उहाँले अर्थतन्त्र मन्दिकै अवस्थामा नपुगेको जिकिर गर्नुभयो ।