• ११ मंसिर २०८१, मङ्गलबार

दृष्टिविहीन शिक्षक आमरण अनसनमा

blog

फडिन्द्र अधिकारी

लेखनाथ, असोज १६ गते । अठार महिनाअघि शिक्षा सेवा आयोगबाट स्थायी शिक्षकमा नाम निकाल्दा शोभा पौडेलका भूईमा खुट्टा थिएनन् । दृष्टिविहीन उहाँलाई जीवन धान्ने आधार पाएको आभास भएको थियो । तर अहिले उहाँलाई शिक्षकको त्यही जागिर निल्नु त ओकल्नु भएको छ ।

पायक पर्ने र अपांगता भएकाको पहँुचयुक्त विद्यालयमा हाजिरी गराउन माग गर्दै दृष्टिविहीन पौडेल आमरण अनसनमा बसेकी बस्नुभएको छ । उहाँको अहिलेसम्म पदस्थापना हुन सकेको छैन । आधारभूत तहमा नेपाली शिक्षकका रुपमा पदस्थापन गर्ने क्रममा उहाँलाई लमजुङको दोर्दी गाउँपालिकाको बालकल्याण मावि पठाइएको थियो । 

लमजुङ सदरमुकामबाट दुई÷तीन घन्टामा पुगिने दोर्दी उहाँलाई सहज भएन । गुरुङ भाषी विद्यार्थीको बाहुल्य रहेको क्षेत्रमा उहाँलाई गुरुङ भाषाको रत्तिभर ज्ञान थिएन । पालिका र विद्यालयले उहाँलाई पदस्थापन गराएनन्, बरु शिक्षा निर्देशनालयलाई पत्राचार गरिदिए । उहाँकै पनि रुचि त्यहाँ पदस्थापन हुनुभन्दा सुगम ठाउँमै जानु थियो । 

निराश बन्दै उहाँले शिक्षा विकास निर्देशनालयमा निवेदन दिनुभयो । उहाँ डेढ दशकदेखि शिक्षण पेशामै हुनुहुन्छ । पोखराको एक विद्यालयमा राहत शिक्षकका रुपमा कार्यरत उहाँ ०६९ मा उत्कृष्ट शिक्षकको रुपमा सम्मानित हुनुभएको थियो । नाम निकालेर पनि पदस्थापन नभएपछि यहाँ डिप्रेसनको शिकार हुनुभयो । उहाँका पति श्रीकान्त भन्नुहुन्छ, “उनी डिप्रेसनको शिकार भइन् । म यति मनोबल भएको मान्छे पनि मनोवैज्ञानिक पीडाले आहत छु ।” श्रीकान्तसमेत दृष्टिविहीन हुनुहुन्छ ।

समस्या अझै समाधान नभएपछि उहाँ आइतबारदेखि शिक्षा विकास निर्देशनालाय तथा शिक्षा विकास तथा समन्वय इकाइ कास्की परिसरमा आमरण अनसनमा हुनुहुन्छ । उहाँले नेपाली निमावि तहमा अपांगता भएका व्यक्तिको समूहबाट नाम निकाल्नु भएको थियो । उहाँ भन्नुहुन्छ,“मेरो शारीरिक अवस्था र त्यहाँको भौगोलिक विकटताका कारणले गर्दा हाजिर हुन असमर्थ भएर पटक पटक सरकारी निकायहरुसँग अनुरोध गर्दा पनि सुरुवाइ भएन । अहिले आमरण अनसनमा बसेकी छु ।”

लमजुङको दुर्गम गाँउ र कुनै पहुँच नभएकाले हाजिरी गराउन नसकिने व्यहोराको पत्र विद्यालयले निर्देशनालयलाई पठाएको थियो । “पटक पटक पालिकादेखि मन्त्रालयसम्म अनुरोध गर्दा पनि सुनुवाइ भएन,” उहाँ भन्नुहुन्छ “मेरो माग अरु केही छैन । मैले काम गर्न सक्ने ठाउँ र पायक पर्ने विद्यालयमा पदस्थापन होस् ।’ पौडेलले नेपालको संविधान तथा अपांगता भएका व्यक्तिहरुको अधिकारको सम्मान गर्न पनि अग्रह गर्नुभयो । 

नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य लोचना अधिकारीले दृष्टिविहीन महिला शिक्षकलाई पायक पर्ने तथा पहुँचयुक्त विद्यालयमा पदस्थापन गरी रोजगारीको अधिकार सुनिश्चित गर्न माग गर्नुभयो । एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्की अध्यक्ष महेन्द्रमणि पौडेलले सरोकारवाला निकाय अमानवीय बनेको प्रतिक्रिया दिनुभयो ।

नेपालले अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि अनुमोदन गरेको छ । अपांगता भएका व्यक्तिलाई राज्यले अपमान गरेको बताउँदै उहाँ दृष्टिविहीन हुनुपरेका कारण दुर्गम दोर्दीमा जान नसकेको प्रष्ट गर्नुहुन्छ । “एक त त्यहाँ गुरुङ भाषा जान्नुपर्ने, त्यो मलाई नआउने । त्यहाँ जानै परे सहयोगी चाहिन्छ । सहयोगीलाई दैनिक कम्तीमा एक हजार दिनुपर्छ,”शोभा भन्नुहुन्छ । 

यता, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य शिक्षक पौडेलको पदस्थापनको विषय पोखरा महानगरसम्म आइनपुगेको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “एक पटक सहयोग र समन्वय गरिदिन भनी निर्देशनालयको पत्र आएको हो । हामी कहाँ खाली भए न पदस्थापन गर्ने हो । उताको पालिकाले हामीलाई केही भनेको छैन ।”