इनरुवा समाचारदाता
इनरुवा, असोज १६ गते । नेकपा (एकीकृत समाजवादी) ले थालेको समाजवादी जागरण अभियान इनरुवा आइपुगेको छ । पूर्वप्रधानमन्त्रीहरू पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल एकसाथ इनरुवा आइपुग्नुभएको हो ।
पार्टी र समाजवादी मोर्चाको आवश्यकता, औचित्य र नागरिकको भावनाबारे जानकारी लिन र दिन थालिएको अभियानमा दुई पूर्वप्रधानमन्त्री एकसाथ इनरुवा आउनुभएपछि यहाँ उत्साह छाएको छ । पार्टीको बारेमा जनतालाई जानकारी गराउँदा रोजगारी, शिक्षा, स्वास्थ्य, सडक, सञ्चार र खानेपानीको माग उठिरहेको र त्यसको सम्बोधनमा पार्टीले पहल गर्ने उहाँहरूले बताउनुभएपछि नगरवासीमा उत्साह देखिएको थियो ।
यसैबिच समाजवादी जागरण अभियानको इनरुवा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले सुशासनको अभाव र भ्रष्टाचारकै कारण समाजवादको यात्रा असफल भइरहेकाले त्यसलाई चिर्न अभियान थालेको बताउनुभयो । भ्रष्टाचार र दण्डहीनताले सुशासनको अभाव खट्किएकाले त्यसबाट मुक्ति दिलाउन जनतालाई जागरण गर्न जरुरी रहेको बताउँदै उहाँले समाजवादको यात्रालाई ठिक राख्ने हो भने स्वयम्लाई भ्रष्टाचारविरोधी बनाउन आवश्यक रहेको बताउनुभयो । सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने, जनतालाई सामाजिक न्यायको महसुस गराउनुपर्ने महासचिव भुसालले बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय तथा प्रदेश र जिल्ला तहका नेताहरू सहभागी रहेको पार्टीका जिल्ला सचिव वसन्त सुवेदीले जानकारी दिनुभयो । अभियान मधेश प्रदेशतर्फ लागेको प्रदेश नेतृ सरस्वती लुइटेल केसीले बताउनुभयो ।