• १४ मंसिर २०८१, शुक्रबार

महभिरको बस्ती पहिरोको जोखिममा

blog

ठाकुरप्रसाद आचार्य  

म्याग्दी (बेनी), असोज १६ गते । म्याग्दीको मालिका गाउँपालिका–४, महभिरको पूरै बस्ती पहिरोको जोखिममा परेको छ । बुधबार राति आएको पहिरोका कारण बस्ती नै जोखिममा परेको हो।  बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ । पहिरोले काले कामी र तुलबहादुर घर्तीको घर भत्किसकेको र १३ घर उच्च जोखिममा परेको वडाध्यक्ष भेजेन्द्रमान पुनले जानकारी दिनुभयो । 

पहिरोले खानेपानी योजनामा क्षति पुगेका कारण गाउँमा खानेपानीको समस्या भएको छ । पहाडको फेदीबाट सुरु भएको दुई वटा पहिरो फेदीमा रहेको रितुङ खोलासम्म पुगेको उहाँले बताउनुभयो । पहिरोले पानीको ट्याङ्की, मुहान र पाइपलाइनमा क्षति पुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी योजना अवरुद्ध भएको छ । 

पहिरोका कारण फूलबारी–महभिर–च्युरीबोट सडक अवरुद्ध भएको छ । पहिरोले गाउँको बिचमा ठुलाठुला खोल्सा बनाएको छ। खोल्सा छेउछाउको जमिन चिरा भएको छ । दुई सय रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा पहिरोले क्षति गरेको छ पहिरोले तुलबहादुरको गोठमा रहेका एउटा राँगो र एउटा गोरु मरेका थिए । “हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियो । ११ जनाको परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छौँ,” तुलबहादुर भन्नुभयो । 

काले कामीले पहिरोले पुरिएको बाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताउनुभयो। पूर्णदेवी घर्ती, सहबहादुर घर्ती, सहबहादुर सुनार, लालबहादुर कामी, तिलक कामी, गोरे कामी, पोविसरा सुुनार, वीरबहादुर कामी, मुक्तिराम सुनार, कुलप्रसाद घर्ती, भीमप्रसाद सुनार, रहमन घर्ती र कुमारी घर्तीको घर जोखिममा रहेको वडा सदस्य गर्वे गुरुङले बताउनुभयो । सो ठाउँमा गत हिउँदमा पनि सुक्खा पहिरो खसेर एउटा घरमा क्षति पुगेको थियो । 

पहिरो प्रभावित क्षेत्रको बिहीबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले निरीक्षण गर्नुभयो।