• २२ असार २०८१, शनिबार

पूर्वाधार विकासमा जनशक्ति अभाव

blog

ठाकुरप्रसाद आचार्य  

म्याग्दी (बेनी), असोज १६ गते । पूर्वाधार विकास कार्यालय म्याग्दीमा दरबन्दी अनुसारका जनशक्ति नहुँदा योजना कार्यान्वयनमा समस्या आएको छ। गण्डकी प्रदेश सरकारले आवश्यक जनशक्ति व्यवस्थापन नगर्दा पुराना तथा चालु आर्थिक वर्षमा विनियोजन भएका विकास योजना कार्यान्वयनमा समस्या भएको हो। 

कार्यालयमा ११ जना प्राविधिक जनशक्तिको दरबन्दी भएकोमा हाल कार्यालय प्रमुखसहित तीन जना मात्र कार्यरत छन्। प्रदेश सरकारले करारमा कार्यरत कर्मचारीको म्याद नथपेका कारण कार्यालयमा जनशक्ति अभाव भएको कार्यालय प्रमुख इन्जिनियर विष्णु पौडेलले बताउनुभयो। 

दुई जना सबइन्जिनियरको भरमा योजना कार्यान्वयन गर्न समस्या भएको उहाँले बताउनुभयो। “अहिलेकै जनशक्तिबाट योजना कार्यान्वयन सम्भव छैन। विकास योजना समयमै कार्यान्वयनमा लैजान आवश्यक जनशक्ति छिटो परिपूर्ति हुनु पर्दछ। यसबारे प्रदेश मन्त्रालयलाई जानकारी गराएका छौँ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार तीन जना इन्जिनियर, चार जना सबइन्जिनियर र एक जना ल्याब असिस्टेन्टको पद रिक्त रहेको छ। लोक सेवाबाट पदपूर्ति नहुँदासम्मका लागि दैनिक ज्यालादारीमा जनशक्ति भर्ना गरेर व्यवस्थापन गर्ने विकल्पबारे कार्यालयको सोच रहेको उहाँले बताउनुभयो। 

गण्डकी प्रदेश सरकारबाट म्याग्दीमा विनियोजन भएका नयाँ तथा पुराना गरेर ६३ वटा सडक योजना, १२ वटा मोटरेबल पुल र पाँच वटा झोलुङ्गे पुल गरी ८० वटा योजना रहेका छन्। कार्यालय प्रमुख पौडेलले भन्नुभयो, “जिल्लामा आएका योजना कार्यान्वयन गर्न हामीसँग जनशक्ति अभाव छ। अहिलेकै जनशक्तिका भरमा योजना छिटो र समयमा सम्पन्न गर्न कठिनाइ छ । चाँडै जनशक्ति व्यवस्थापन गर्नका लागि प्रदेशको पूर्वाधार विकास मन्त्रालयमा अनुरोध गरेका छौँ ।”