• ४ जेठ २०८१, शुक्रबार

झाम्टा नाचको संरक्षणमा जुट्दै थारू समुदाय

blog

मीना कँडेल

कावासोती, असोज १६ गते । थारू महिलाको पर्वका रूपमा छुट्टै विशेषता बोकेको पर्व हो, जितिया । जितिया पर्वलाई थारू समुदायका महिलाले सांस्कृतिक पर्वका रूपमा लिने गर्छन् । नवलपुरका थारू समुदायमा परम्परागत रूपमा नाचिने ‘झाम्टा’ नाचको संरक्षणमा थारू समुदाय जुटेका छन् । जितिया पर्वको अवसरमा नवलपुरमा थारू समुदायका महिला ‘झाम्टा’ गीत गाउँदै नाच्दै जितिया मनाउने प्रचलन रहेको छ । पछिल्लो समयमा ‘झाम्टा’ नाच हराउँदै जान थालेपछि जितिया पर्वको अवसरमा जिल्लामा प्रतियोगितासमेत सञ्चालन गरिएको छ । 

थारू कल्याण समिति कावासोतीका सभापति विकनकुमारी महतोले जितिया पर्वका अवसरमा समुदायमा झाम्टा गीतमा नाच्ने गाउने परम्पराको संरक्षणका लागि थारू समुदायका महिलाबिच झाम्टा नाचको प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वी नवलपरासीको तराई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ । सन्तानको दीर्घायुका लागि महिला व्रत बस्ने दिनका रूपमा चिनिने पर्व हो, जितिया ।” 

जितिया पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन नवलपुर तथा तराईका जिल्लामा थारू महिलाले मनाउने गर्छन् । जितिया पर्व भाइचारा, समानता, विजयीको प्रतीकका रूपमा लिएको छ । थारू महिलाको ठुलो चाडका रूपमा रहेको जितिया पर्व सन्तानको सुख शान्ति र चिरायुको लागि प्रसिद्ध रहेको थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य वीरेन्द्र चौधरीले बताउनुभयो ।

झाम्टा नाच प्रतियोगिता सम्पन्न

थारू समुदायका महिलाले जितिया पर्वका अवसरमा घर घरमा गएर गाउने नाच्ने झाम्टा गीत र नाच नगरस्तरीय रूपमा कावासोतीमा समूह दर्ता गरी सञ्चालन गरिएको छ । कावासोती–१०, मगरकोटमा सञ्चालन गरिएको प्रतियोगितामा नगरका ४३ समूहको सहभागिता थियो । जसमध्ये प्रगतिशील महिला समूह कावासोती–१४, हेगौली प्रथम स्थान हासिल गर्न सफल भएको छ । कावासोती–१५ को शेरगन्ज झमटा समूह शेरगन्ज दोस्रो र कावासोती–१५, गोडारको गोइ थारू महिला समूह तेस्रो भएको सभापति महतोले बताउनुभयो  । 

यसै गरी कावासोती–१०, मगरकोटको मिरमिरे बिहानी युवती समूह र कावासोती–१७, गोछडाटारको दिदीबहिनी कोपिला समूहले सान्त्वना पुरस्कार पाएका छन् । पहिलो हुनेले १५ हजार, दोस्रोले १२ हजार, तेस्रोले १० हजार र सान्त्वना पुरस्कार पाउने दुई समूहलाई छ/छ हजार रुपियाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ । थारू समुदायको बाक्लो बसोबास रहेको जिल्लाको मध्यबिन्दु, कावासोती, देवचुली नगरपालिकामा जितियाको विशेषउल्लासका साथ मनाउने गरिएको छ ।