• २६ वैशाख २०८२, शुक्रबार

बिजुली पुगेपछि गाउँ झिलिमिली

blog

सिन्धुली समाचारदाता

मरिण (सिन्धुली), असोज १६ गते । सिन्धुलीको मरिण गाउँपालिका–२, सिन्दुरेदोभानका नरबहादुर अस्थानीलाई घरमा राष्ट्रिय विद्युत् प्रसारण लाइनको बिजुली बाल्ने धोको बल्ल पूरा भएको छ । वर्षौंदेखि टुकी बत्तीको सहाराले अँध्यारो भगाउँदै आउनुभएका अस्थानीको घरमा गत सातादेखि राष्ट्रिय विद्युत् प्रसारणको बिजुलीले झिलिमिली बनेको छ ।

उहाँले भन्नुभयो, “साँझमा धिपधिप बल्ने सोलार बत्ती । कहिलेकाहीँ मौसम खराब हुँदा सोलार नबलेपछि टुकी बाल्नुपर्ने बाध्यता थियो । त्यो समस्याबाट बल्ल मुक्ति पाइएको छ ।” स्थानीयका अनुसार मरिण गाउँपालिका–२ को रातमाटा, सिन्दुरेदोभान, सिँजालीडाँडा, राजवृक्ष, जल्केनीलगायत आधा दर्जनभन्दा बढी गाउँ मङ्गलबारदेखि राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको हो । 

वर्षौंको पर्खाइपछि गाउँमा बिजुली बत्ती पुग्दा स्थानीय हर्षित भएका छन् । गाउँमा बिजुली पुग्दा स्थानीय उपभोक्ताले नयाँ युगमा प्रवेश गरेको महसुस गरेका छन् । वर्षौंदेखि ठेकेदार कम्पनीको लापरबाहीले बिजुली बत्ती विस्तारमा ढिलाइ भएको थियो ।  

वडा कार्यालय र गाउँपालिकाको समन्वयमा स्थानीय उपभोक्ता आफैँले झन्डै दुई महिना जनश्रमदान गरेर गाउँमा बिजुली बत्ती पु-याएको वडाध्यक्ष कमलबहादुर आलेमगरले जानकारी दिनुभयो । उहाँले उक्त वडाका रातमाटा, सिन्दुरेदोभान, सिँजालीडाँडा, राजवृक्ष, जल्केनी, ढाडपाखा, बर्खे, हात्तीगौँडालगायतका बस्तीमा रहेका २९० घरधुरीले बिजुली बत्तीको सुविधा पाएको बताउनुभयो । “यी गाउँका ६० प्रतिशतभन्दा बढी घरले वायरिङ सकेर बिजुली बत्ती जडान गर्न थालेका छन् । बाँकी घरमा पनि धमाधम वायरिङ हुँदै छ । दसैँअघिसम्म सबै घरमा बिजुली बल्छ,” उहाँले भन्नुभयो । काम सक्न ठेकेदार कम्पनीलाई दबाब दिनुका साथै स्थानीय उपभोक्ताले पनि श्रमदान गरेका हुन् ।

गाउँमा बिजुली पुगेसँगै विद्यार्थीलाई नयाँ र आधुनिक प्रविधिको प्रयोग गरी पढाउन सजिलो हुने मावि रातमाटाका प्रधानाध्यापक तेजबहादुर गुर्मछानले बताउनुभयो । उहाँले भन्नुभयो, “बिजुलीको अभावमा स्कुलको कम्प्युटर, आइसिटीका उपकरण वर्षौंदेखि चलाउन असहज भइरहेको थियो । सोलारको भरमा चाहे जति यसको प्रयोग गर्न पाइएको थिएन । अब बिजुली आएको छ । 

स्कुललाई धेरै सहज हुन्छ ।” 

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले गाउँपालिकाको ७० प्रतिशत भूभागमा राष्ट्रिय प्रसारणबाट विद्युतीकरण भए पनि अझै ३० प्रतिशत भूभागमा बिजुली बत्ती बाल्न बाँकी रहेको जानकारी दिनुभयो । दसैँभन्दा अगाडि नै २ नं. वडाका अन्य ठाउँमा पनि विद्युतीकरणको तयारी भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “दसैँअघि पालिकाको करिब ९० प्रतिशत घरधुरीमा बिजुली बत्ती पु-याउन मेहनत गरिरहेको छु ।”