• १३ मंसिर २०८१, बिहिबार

पहिला मारेर खानेहरू अहिले संरक्षणमा

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), असोज १६ गते । खेतबारी, कुलो तथा बस्तीमा भेटिएका कछुवा, गोहोरो, गोही, जङ्गली हाँसलगायतका जीवजन्तुको सिकार गर्ने स्थानीयवासी पछिल्लो समयमा भने तिनको संरक्षणमा जुटेका छन् ।

कैलालीको घोडाघोडी सिमसार वरपरको बस्ती, खेतबारीमा पुगेका गोही, कछुवालगायतलाई स्थानीयले उद्धार गरी सुरक्षित बासस्थान घोडाघोडी तालमा ल्याएर छाड्ने चलन बढ्दै गएको छ । गत हप्ता घोडाघोडी नगरपालिका–४, मैतुवामा सिमसार क्षेत्रमा पाइने जङ्गली हाँसका १० वटा बच्चा फेला परेका थिए । स्थानीय रमेश चौधरीले ती बच्चालाई सुरक्षित रूपमा घोडाघोडी तालमा छाड्नु्भएको छ । त्यसको भोलिपल्ट हाँसको माउसमेत फेला पारेका चौधरीले माउलाई समेत सिमसार क्षेत्रमा छाड्नुभएको हो । 

गत भदौ अन्तिम साता घोडाघोडी–१, कौवागाउँमा कुलोमा घडियाल गोहीको बच्चा फेला परेको थियो । स्थानीयले गोही देख्नेबित्तिकै सब डिभिजन वन कार्यालय सुखडलाई खबर गरी वनका कर्मचारी ज्ञानु चौधरीको रोहबरमा घोडाघोडी तालमा लगेर छाडेका थिए । स्थानीयले करिब १० केजी तौल भएको गोहीको बच्चाको उद्धारमा सहयोग गरेका हुन् । 

यी त हालैका केही प्रतिनिधिमूलक घटना मात्र हुन् । स्थानीयले घोडाघोडी सिमसार क्षेत्रको महत्व बुझ्न थालेपछि केही वर्षयता जङ्गली जीवजन्तु मारेर खाने चलन घट्दै गएको छ । आफ्नो गाउँठाउँमा देखिएका जीवजन्तुको उद्धार गरी सुरक्षित स्थानमा पु¥याउने कार्य बढेको छ । घोडाघोडी ताल क्षेत्रका कर्मचारी दीपक शाहका अनुसार साउनयता गोही, कछुवा, अजिङ्गर, हाँसका बच्चा ल्याएर छाड्ने चलन बढेको छ । 

गोही र अजिङ्गरका बच्चा तालमा छाड्दा मुचुल्का बनाई रोहबरमा छाड्ने गरिए पनि कछुवा, हाँसका बच्चा भने त्यत्तिकै छाड्ने गरिएको उहाँले बताउनुभयो । गएको साउनयता विभिन्न स्थानबाट उद्धार गरेर गोहीका बच्चा छ, हाँसका बच्चा १०, कछुवा चार र एउटा अजिङ्गरलाई सुरक्षित बासस्थानमा छाडिएको जानकारी उहाँले दिनुभयो । 

जनचेतनाको अभावले कछुवा, हाँस, गोहोरोलगायतका वन्यजन्तु भेट्टाएमा मारेर खाने स्थानीय हिजोआज भने संरक्षणमा जुटेका भनाइ उहाँको छ । यहाँ अहिले मगर गोही, कछुवा, विभिन्न प्रजातिका चरालगायत जीवजन्तुको सङ्ख्या बढेको छ । विश्व सिमसार क्षेत्र घोडाघोडी ताल जैविक विविधताले महत्वपूर्ण क्षेत्र हो । सन् २००३ मा यसलाई विश्व रामसार सूचीमा सूचीकृत गरिएको हो । सो क्षेत्रको जैविक विविधताका विषयमा सचेतना बढाएसँगै स्थानीय जागरुक हुँदै गएका घोडाघोडी संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष हेमबहादुर बमले बताउनुभयो ।

“दुर्लभ वन्यजन्तुको चोरी सिकार जैविक विविधता संरक्षणको मुख्य चुनौती थियो,” उहाँले भन्नुभयो, “केही वर्षयता भने सरकार तथा विभिन्न संरक्षणको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको संरक्षणले स्थानीयवासी नै जागरुक हुन थालेका छन् ।”