अर्जुन काफ्ले
स्याङ्जा, असोज १५ गते । अर्जुनचौपारी गाउँपालिका–६ दरौमा एक महिलामाथि गरिएको कुटपिटको राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यालयका प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा महिला हुमकला रोक्कामाथिको साङ्घातिक हमलाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
घटनामा संलग्न दोषी पत्ता लगाई अविलम्ब कानुनी कारबाही गर्न सो दलले माग गरेको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमितिले समेत प्रेस विज्ञप्तिमार्फत कुटपिटको विरोध गरेको छ । वरिष्ठ उपाध्यक्ष धनप्रसाद गुरुङले सामान्य भनाभनमा निर्ममतापूर्वक कुटपिट भएको बताउनुभएको छ ।
घाइते रोक्काको फेवासिटी अस्पतालमा उपचार भइरहेको छ । ढुङ्गाका कारण विवाद भएको बताइएको छ । दरौँ निवासी जुना गुरुङको घरमा टास्ने ढुङ्गा खानीबाट ढुङ्गा लगेको भन्दै विवाद बढेको स्थानीयको भनाइ छ ।
घटनाको अघिल्लो दिन बिनासोधपुछ जुनाको ढुङ्गा खानीबाट रोक्काले ट्याक्टरमा हालेर लग्नेक्रममा मिस्त्रीले भेटेपछि झारेको थियो । गत असोज १० गते रोक्का र जुनासहित स्थानीय समाजसेवीसहित खानीमै भएको छलफलका क्रममा जुनाले रोक्कालाई हातपात गर्नुभएको थियो ।
कुटपिट पश्चात् पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । सामान्य विवादमा मरणासन्न रूपमा आक्रमण गर्ने जुनालाई प्रहरी प्रशासनले नसमातेपछि राप्रपाले विरोध गरेको केन्द्रीय सदस्य तोरणबहादुर गुरुङले बताउनुभयो ।
प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले रोक्कालाई आक्रमण गर्ने जुनालाई अनुसन्धानको लागि पक्राउ गरी छानबिन अगाडि बढाएको बताउनुभयो ।