• १३ मंसिर २०८१, बिहिबार

गाउँमा बिमा जनचेतना अभियान

blog

हुम्ला समाचारदाता

हुम्ला, असोज १५ गते । ग्रामीणस्तरमा जनचेतना फैलाउन बिमा जागरण अभियान सञ्चालन गरिएको छ । ग्रामीणस्तरमा जीवन बिमा गर्ने सङ्ख्या निकै कम हुनु र सबैलाई बिमाको पहुँचमा ल्याउन यो जागरण अभियान सञ्चालन गरिएको हो ।  

सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडलाई बिमा प्राधिकरणले हुम्ला जिल्लामा जीवन बिमा जागरण अभियान सञ्चालन गर्ने जिम्मा दिएको उक्त कम्पनीका भेरी क्षेत्रका क्षेत्रीय प्रबन्धक मोहन माझीले बताउनुभयो । उहाँले प्राधिकरणले दिएको जिम्मा अनुसार कम्पनीले महिनाको कम्तीमा एक पटक गाउँ गाउँमा पुगेर ग्रामीणस्तरमा जागरण अभियान सञ्चालन कार्य सुरु गरेको बताउनुभयो । यस क्रममा उक्त कम्पनीले पहिलो पटक खार्पुनाथ गाउँपालिकामा यो अभियान सञ्चालन गरेको हो । 

जागरण अभियानका क्रममा प्रबन्धक माझीले बिमाको परिचय, आवश्यकता, महत्व र फाइदाका बारेमा जानकारी गराउनुभएको थियो । त्यसै गरी जागरण अभियानका क्रममा बिमा गर्दा यसले सेवाग्राहीको सुरक्षा र बचतको सुनिश्चित गर्ने विषयमा समेत छलफल भएको थियो । छलफलमा बिरामी हुँदा ३५ प्रकारका रोगको उपचार निःशुल्क गर्नेबारेमा जानकारी दिइएको छ । हुम्ला जिल्लाको जनसङ्ख्या ५५ हजार ४५३ रहेकामा त्यसको २० प्रतिशत नागरिकले मात्र जीवन बिमा गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो । 

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले ग्रामीणस्तरमा बिमाको पहुँच वृद्धि गर्नु आवश्यक रहेको बताउँदै स्थानीयवासीलाई जीवन बिमा गरेर आफ्नो सुरक्षाका साथै बचतको ग्यारेन्टी गर्न सुझाव दिनुभयो । उहाँले बुझेका स्थानमा पशुबस्तु, घर, खेतीपाती, सवारीसाधन प्रत्येकको बिमा गर्ने कार्य भइरहेको अवस्थामा जिल्लामा अब जीवन बिमा गर्नु आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, किसानलगायतको उपस्थिति रहेको थियो । यसैबिच कम्पनीले अघिल्लो आर्थिक वर्षमा सफल व्यवसाय गर्ने अभिकर्तालाई सम्मानसमेत गरेको छ ।